अगस्ट २२, २०२५—अमेरिका । अमेरिकामा रहेका नेपाली र दक्षिण एसियाली समुदायबीच बढ्दो आत्महत्या र डिप्रेशनको समस्यालाई सम्बोधन गर्न दुई प्रतिष्ठित संस्था — राधिक फाउण्डेशन नेपाल र मदरल्याण्ड नेपाल यूएसए — ले संयुक्तरूपमा देशव्यापी सचेतना अभियान सुरु गरेका छन्।
यो अभियान २०२५ जुलाई २६ देखि २८ सम्म क्यालिफोर्नियाको रिचमण्डस्थित ५८०१ म्याकब्राइड एभिन्युमा सुरु भई ओहायो, बाल्टिमोर, भर्जिनियालगायतका विभिन्न सहरमा अन्तरक्रियात्मक कार्यक्रमहरूमार्फत सम्पन्न भएको थियो। हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएर मानसिक स्वास्थ्यबारे खुलेर छलफल गरे, डिप्रेशनसँग सम्बन्धित सामाजिक कलङ्क तोड्न मद्दत गरे, र शिक्षा तथा सामुदायिक सहयोगमार्फत आत्महत्या रोकथामबारे सचेतना बढाए।
यो पहलको नेतृत्व राधिकादासी (प्रिमा नेपाल), जो एक सम्मानित मानसिक स्वास्थ्य अभियन्ता र आध्यात्मिक नेतृ हुन्, र अनिल पाण्डे, मदरल्याण्ड नेपाल यूएसएका संस्थापक,ले गरेका छन्। अनिल पाण्डेका लागि यो अभियान व्यक्तिगत पीडाबाट प्रेरित छ — गत वर्ष उनको २८ वर्षीया छोरी मन्सुन पाण्डे, जो सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीकी बायोकैमेस्ट्री स्नातक थिइन्, गम्भीर डिप्रेशनसँग लड्दै गर्दा आत्महत्याबाट जीवन गुमाएकी थिइन्। यस गहिरो क्षतिपछि उनले आफ्नो जीवन अरूलाई यस्तो पीडा भोग्न नपरोस् भनेर समर्पित गरेका छन्। उता, राधिकादासीले वर्षौँदेखि भावनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग गर्दै, मानवतावादी काममार्फत आशा र आत्मबल जगाउने काम गर्दै आएकी छिन्।
अमेरिकी तथ्याङ्कअनुसार दैनिक करिब १३० जनाले आत्महत्या गर्ने गरेका छन्, जसमा नेपाली–अमेरिकी समुदायबीचको दर पनि बढ्दो अवस्थामा छ। आयोजकहरूले यसलाई कलङ्क, मौनता, र सांस्कृतिक रूपमा उपयुक्त मानसिक स्वास्थ्य सेवाको कमीलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन्। यही कारण यस अभियानले परिवार, शिक्षक, स्वास्थ्यकर्मी र सञ्चारमाध्यमलाई एउटै प्लेटफर्ममा ल्याई सुरक्षित वातावरणमा संवाद र सचेतना विस्तार गर्ने लक्ष्य लिएको छ।
मदरल्याण्ड नेपालले वर्षौँदेखि अमेरिकास्थित नेपाली समुदायलाई सहयोग गर्दै आएको छ। आप्रवासी, शरणार्थी, विद्यार्थी र विद्वानहरूलाई अमेरिकन समाजमा अभ्यस्त बनाउन सामाजिक, स्वास्थ्य र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले महिला र बालबालिकामुखी कार्यलाई विशेष प्राथमिकता दिएको छ। यसले नेपाली कम्युनिटी सेन्टर स्थापना गरेको छ, ग्रिफ सेन्टर सुरु गरेको छ, विद्यालयहरूलाई सहयोग पुर्याएको छ, सांस्कृतिक आदान–प्रदान कार्यक्रम र कोष संकलन अभियान सञ्चालन गरेको छ। २०१५ को भूकम्पपछि यस संस्थाले २५,००१ अमेरिकी डलर सहयोग गर्दै बे एरिया नेपाली कम्युनिटी सेन्टरमार्फत प्रमुख योगदान दिएको थियो। यसका साथै, संस्थाले जेंडर इक्वालिटी पत्रकारिता पुरस्कार स्थापना गरेको छ र २०२४ मा क्यालिफोर्नियामा मुस्ताङस्थित मुक्तिनाथ मन्दिर उद्घाटन गरी राजकुमारी हिमानी शाहको विशेष पूजामा सहभागिता गराएको थियो।
समुदायको विविधतालाई ध्यानमा राखी कार्यक्रममा नेपाली, हिन्दी, तिब्बती, भुटानी र अंग्रेजी भाषामा सत्रहरू सञ्चालन गरियो। प्रत्येक कार्यक्रम राधिकादासीको प्रार्थनासहित सुरु भएकोले सहभागीहरूलाई आध्यात्मिक शान्ति र आशा मिलेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य अभियन्ता राधिकादासीलाई विशेष सम्मानसमेत गरिएको थियो।
तीन दिनसम्म चलेको क्यालिफोर्नियाको यो कार्यक्रम व्यापक सफलता हासिल गर्न सफल भयो। कार्यक्रममा ठूलो संख्यामा स्वयंसेवकहरूको सहभागिता रह्यो र मदरल्याण्ड नेपाल तथा सिटी अफ ओकल्याण्डबाट औपचारिक मान्यता प्राप्त गरियो। आयोजकहरूले घोषणा गरेअनुसार राधिकादासी आगामी अप्रिल–मेमा अमेरिकाभरि विस्तृत सचेतना अभियानका लागि पुनः फर्कनेछिन्।
यस संयुक्त पहलले स्पष्ट सन्देश दिएको छ — आशा सधैं हुन्छ, कसैले पनि मौन पीडा सहनुपर्दैन।