काठमाडौं।गैरआवासीय नेपाली संघ (NRNA) NCC USA 2025–27 कार्यकालको निर्वाचन भर्खरै सम्पन्न भएको छ। यस निर्वाचनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएकी दुर्गा तिवारीले पराजय बेहोर्नु भएपनि उनको मन र भीजन भने अझै दृढ र विजयी देखिएको छ।
निर्वाचनपश्चात उहाँले जारी गर्नुभएको सन्देशमा तिवारीले भन्नुभयो— “समाजसेवाको यात्रामा साथ दिनु हुने सम्पूर्ण मतदाता, शुभचिन्तक, स्वयंसेवक तथा साथीभाइ दाजुभाइ बहिनीहरुप्रति म हार्दिक आभार व्यक्त गर्दछु। हारेपनि मेरो मन र मेरो भीजन हारेको छैन। विजयी साथीहरुलाई बधाई र सफल कार्यकालको शुभकामना।”
यसरी पराजयपछि पनि विजेताहरुलाई खुलेर बधाई दिन सक्ने, आगामी यात्रामा अझ दृढताका साथ अघि बढ्ने मनस्थिति राख्ने दुर्गा तिवारीको यो भद्रता र उदारता नै उनको महानता हो।
समाजसेवामा लामो समयदेखि सक्रिय तिवारीले चुनावमा पराजयलाई आफ्नो व्यक्तिगत हार नभई नयाँ सुरुवातको अवसरका रूपमा लिनुभएको छ। उहाँलाई साथ दिने सयौं मतदाता तथा शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्— “आज हार भएपनि भोलि पक्कै जित हुनेछ। दुर्गा तिवारी हाम्रो गर्वको नाम हो।”
NRNA NCC USA मा यो पटक त जित हात लागेन, तर प्रवासी नेपाली समाजमा उनी देखाउने नेतृत्व, स्पष्ट दृष्टिकोण र सेवाभावले अर्को पटक अवश्य सफलता दिलाउने विश्वास समर्थकहरुले व्यक्त गरेका छन्।
हारमा पनि जितको बाटो देखाउन सक्ने यस्तो मनस्थितिले दुर्गा तिवारीलाई अझ बलियो नेतृका रूपमा चिनाएको छ।