इजरायलमा अपहरणमा परेका नेपाली विपिन जोशीको सुरक्षित रिहाईको मागसहित सुजाता गौतमले निरन्तर प्रदर्शन गर्दै आएकी छन्। उनले करिब डेढ वर्षदेखि तेलअवीवको अजर्याली सेन्टर (Azrieli Center) अगाडि प्रत्येक दिन साँझ ७ बजेदेखि राति ८:३० बजेसम्म व्यानर र फोटोसहित प्रदर्शन गरिरहेकी छन्।
काठमाडौंको थलीकी सुजाता १७ वर्षदेखि इजरायलमा बस्दै आएकी हुन्। उनले भनिन्, “नेपालीको नाताले म पनि भाई विपिनको फोटो बोकेर सडकमा उभिन्छु। यो मेरो व्यक्तिगत इच्छाले सुरु गरेको निरन्तर अभियान हो।”
विपिनलाई ‘नेपालको हिरो’ घोषणा
२०२३ मा इजरायलमा भएको आतङ्ककारी आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए। विद्रोही समूहले फालेको बम समातेर उनीहरू तिर नै साहसका साथ फालिदिएका कारण विपिन अपहरणमा परेका थिए ।उनले धेरै मानिसको ज्यान जोगिएको बताइन्छ। त्यसपछि उनी कब्जामा परे।
सुजाता भन्छिन्, “विपिनले अरु धेरै मानिसलाई बचाएका थिए, त्यसैले इजरायली सरकारले उनलाई ‘नेपालको हिरो’ भन्दै सम्मान गरेको छ।”
जोशी परिवार इजरायलमै
विपिनको आमा र उनकी बहिनी अहिले इजरायलमै छन्। इजरायली सरकारले उनीहरूलाई बोलाएर निरन्तर जानकारी दिइरहेको छ। विपिन अझै अज्ञात अवस्थामा रहेका छन्।
नेपाली र इजरायली दुवै नागरिक अपहरणमा
सुजाताका अनुसार अहिले पनि अपहरणमा परेका नेपाली र इजरायली नागरिकहरूको परिवारले संयुक्त रुपमा प्रदर्शन गरिरहेका छन्। विपिन जोशी एक मात्र नेपाली अपहरणमा परेका हुन् भने बाँकी अपहरित इजरायली परिवारका सदस्य रहेका छन्।
“म विपिनलाई देख्न पाउने आशामा सडकमा छु”
सुजाता भन्छिन्, “मैले विपिनलाई देख्न पाऊँ भन्ने आशाले यो अभियान जारी राखेकी छु। यो मेरो दैनिकीजस्तै भइसकेको छ। जबसम्म विपिन फर्केर आउँदैनन्, यो आवाज म थाम्दिनँ।”