सान फ्रान्सिस्को, क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष बासु क्षेत्रीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार सतेन्द्र शाहलाई खुलेआम समर्थन गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै क्षेत्रीले शाहलाई “सक्कली लोकतन्त्रवादी, भिजनयुक्त र पारदर्शी नेतृत्वको प्रतीक” भन्दै, यो निर्वाचनमा उनलाई भारी बहुमतले जिताउनु पर्ने आवश्यकता औंल्याएका छन्।
“म लामो समयदेखि आलोचनात्मक चेत र वैज्ञानिक दृष्टिकोणसहित सामाजिक आन्दोलनमा सक्रिय छु। यदि हामीलाई सचेत, भिजनयुक्त र ईमानदार अध्यक्ष चाहिएको हो भने शाहको विकल्प छैन,” क्षेत्रीले भने। उनले शाहलाई पढाइमा अब्बल, चरित्रमा दृढ, सरल स्वभावका, चुनावमा कम खर्च गर्ने र सही लोकतान्त्रिक मूल्य अँगालेको नेताका रूपमा चित्रित गरे।
क्षेत्रीले सवाल उठाउँदै भने, “यदि विचारको पक्षधरता हो भने शाहभन्दा ठूलो लोकतन्त्रवादी को छ? यदि भिजन भएको अध्यक्ष चाहिएको हो भने, उनी जत्तिको स्पष्ट दृष्टिकोण भएको अरु कोही छ?”
उनका अनुसार, शाह गैर आवासीय नेपाली संघलाई नयाँ भिजन, मिशन, गति र समानताको बाटोमा अघि बढाउने नेतृत्व हुन्। त्यसैले, यो निर्वाचनमा शाहलाई अध्यक्ष बनाउनु बाहेक अर्को विकल्प नभएको उनले स्पष्ट पारे।