लम्जुङ, दोर्दे गाउँपालिका–०६।
लम्जुङ जिल्लाको दोर्दे गाउँपालिका–०६ स्थित श्री भुमेस्थान आधारभूत विद्यालयमा समाजसेवी दिपक योन्जन र जिया गुरुङको नेतृत्वमा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत करिब ४८ जना अति विपन्न विद्यार्थीहरूलाई विद्यालय पोसाक र घरमा प्रयोग गर्न मिल्ने लुगा वितरण गरिएको हो।

यसअघि विद्यालयमा रहेको शौचालय जीर्ण भई प्रयोग अयोग्य अवस्थामा पुगेको हुँदा विद्यार्थी र शिक्षकहरूलाई ठूलो समस्या भएको थियो। उक्त समस्यालाई समाधान गर्न समाजसेवी दिपक योन्जनको पहलमा शौचालय पुनर्निर्माण गरिएको छ। पुनर्निर्माण कार्यलाई सफल बनाउन गाउँका करिब ८३ घरधुरीले निस्वार्थ श्रमदान गर्दै सामूहिक योगदान गरेका छन्।

स्थानीयको सामूहिक सहयोग
शौचालय पुनर्निर्माणका क्रममा गाउँका वृद्धदेखि युवासम्म सक्रिय सहभागिता रहेको गाउँवासी बताउँछन्। श्रमदानमार्फत सम्पन्न गरिएको यो कार्यले गाउँमै सहकार्यको उदाहरण प्रस्तुत गरेको छ। स्थानीय बासिन्दाले यसलाई “गाउँले आफैंले गाउँ विकास गर्ने” सकारात्मक अभियानका रूपमा लिएका छन्।

शिक्षामा चासो नदिने सरकार, अघि सरेका समाजसेवी
स्थानीय सरकारले विद्यालय सुधार र विद्यार्थीहरूको आधारभूत आवश्यकताप्रति खासै ध्यान नदिएको गुनासो शिक्षक, अभिभावक र समाजसेवीहरूबाट आइरहेको छ। सरकारी स्तरबाट सहयोग नपाउँदा पनि समाजसेवी दिपक योन्जन र जिया गुरुङले निरन्तर सहयोग गर्दै आएका छन्।
विद्यालयका शिक्षकहरूले भने, “विद्यार्थीलाई पोसाक तथा आधारभूत आवश्यकता पुरा गर्ने कामले उनीहरूको अध्ययनमा उत्साह थपेको छ। समाजसेवीहरूले अघि सरेपछि अभिभावकलाई समेत ठूलो राहत भएको छ।”
विद्यार्थी र अभिभावक खुसी
पोसाक प्राप्त गरेका विद्यार्थीहरूमा उत्साहको वातावरण देखिएको छ। विद्यालयका अभिभावकहरूले विपन्न परिवारका बालबालिकाले पनि अब आत्मविश्वासका साथ विद्यालय आउन सक्ने भएकोमा खुसी व्यक्त गरेका छन्।
समाजसेवीहरूको भनाइ
सहयोग अभियानका अगुवा दिपक योन्जनले भने, “सरकार वा स्थानीय निकायले ध्यान नदिएका ठाउँमा हामीजस्ता व्यक्तिले सानो योगदान दिएरै भए पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वासका साथ यो काम सुरु गरेका हौँ।”
त्यस्तै, जिया गुरुङले भनिन्, “समाजमा सक्षम मानिसले अघि बढेर सहयोग गर्दा मात्र शिक्षाको पहुँच सबैसम्म पुग्छ। हामीले गरेको यो कामले अन्य ठाउँमा पनि सकारात्मक सन्देश दिने आशा गरेका छौँ।”
निष्कर्ष
विद्यालय सुधार, शौचालय पुनर्निर्माण र विपन्न विद्यार्थीलाई पोसाक वितरण जस्ता साना तर महत्वपूर्ण कार्यहरूले ग्रामीण क्षेत्रमा शिक्षा र आधारभूत पूर्वाधारलाई मजबुत बनाउन ठूलो योगदान पु¥याएको छ। स्थानीय निकायले देखाएको उदासीनता विपरीत समाजसेवीहरूको सक्रियताले शिक्षामा आशा र उज्यालो देखाएको गाउँलेहरू बताउँछन्।
