काठमाडौं, २०८२ भदौ ४ गते—काठमाडौं महानगरपालिका–२६, गोंगबु मित्रनगरस्थित दुई बार तथा क्लबमा सर्वसाधारणलाई प्रलोभनमा पारी असुली र दुर्व्यवहार गर्ने गतिविधि सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा २३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला नुवाकोट घर भई काठमाडौंमा बसोबास गर्दै आएका ३५ वर्षीय पदम सिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एण्ड क्लब र कञ्चनपुर स्थायी घर भएका ३० वर्षीय सुवास सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एण्ड क्लबमा सञ्चालक तथा कामदारको रूपमा संलग्न व्यक्तिहरूले सडकमा हिँडिरहेका सर्वसाधारणलाई विभिन्न प्रकारका सुविधा र सेवा देखाई भित्र्याई अनावश्यक बिल असुल गर्ने तथा दुर्व्यवहार गर्ने गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
क्रिष्टल बार एण्ड क्लबबाट पक्राउ पर्नेहरू
१. सिता कुमारी थापा (२४), बर्दिया
२. सलिना आले मगर (२२), सिन्धुली
३. रोशिका भट्टराई (२२), धनकुटा
४. लक्ष्मी राई (१८), सिन्धुली
५. स्मृती लिम्बु (२०), उदयपुर
६. शुसिला मगर (१८), धादिङ
७. सामराज तामाङ (२०), नुवाकोट
८. बिनोद रतौली (२४), कञ्चनपुर
९. समिर खड्का (२०), बाजुरा
१०. दिल कुमार रसाईली (२२), बाग्लुङ
११. विराज तामाङ (१९), काभ्रे
गोल्डेन बार एण्ड क्लबबाट पक्राउ पर्नेहरू
१. सशिकला खत्री (१९), सर्लाही
२. अनिशा थापा (२४), गोरखा
३. अन्जना मुक्तान (२४), सिन्धुली
४. सबिना मगर (१८), धादिङ
५. सुक्रिन्ता मगर (२१), उदयपुर
६. करूणा थापा (२१), नुवाकोट
७. सुन्दर तामाङ (३३), नुवाकोट
८. राज कुमार तामाङ (३५), काभ्रे
९. राजेन्द्र तामाङ (२४), नुवाकोट
१०. देबराज तामाङ (३१), काभ्रे
११. अनिल तामाङ (२६), काभ्रे
१२. अदित्य लामा (१८), नुवाकोट
यसरी दुवै क्लबबाट जम्मा २३ जना पक्राउ परेका छन्।
प्रहरीले यस्ता बार तथा क्लबहरूले सर्वसाधारणलाई प्रलोभनमा पारी आर्थिक शोषण गर्ने कार्यमा संलग्न भएको भन्दै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।