काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवनिर्वाचित नेतृत्वले नेपालका आप्रवासीहरूलाई प्रदान गरिएको अस्थायी संरक्षित दर्जा (TPS) को निरन्तरताका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार, अगस्ट २०, २०२५ का दिन क्यालिफोर्नियास्थित संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गर्दै नेपालसहितका अनुमानित ७,००० नेपाली आप्रवासीहरूमाथि रहेको TPS सुविधा अन्त्य गर्ने संघीय सरकारलाई अनुमति दिएको खबरले प्रवासी नेपाली समुदायमा गम्भीर चासो पैदा गरेको छ ।
यसै सन्दर्भमा, एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष सतेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै संघीय अदालतको निर्णयप्रति गहिरो ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेका छन् —
“आप्रवासी अधिकारका क्षेत्रमा क्रियाशील कानुन व्यवसायी तथा अधिकारकर्मीहरूसँग परामर्श गरी एनआरएनए अमेरिका शिघ्र एउटा कार्यदल गठन गर्दै कानुनी उपायहरूको खोजीमा लाग्नेछ।”
शाहले नेपालको अस्थिर राजनीतिक अवस्था र प्राकृतिक प्रकोपका कारण आप्रवासन रोजेका नेपालीहरूलाई अमेरिकाले दिएको अवसरलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संघीय सरकारलाई पनि पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले थप भने — “अमेरिकी कानुनको पालना गर्दै, राजनीतिक समर्थन जुटाउँदै र धैर्यका साथ कानुनी बाटोबाटै TPS निरन्तरताका लागि एनआरएनए अमेरिका प्रवासी नेपालीहरूसँग सधैं खडा रहनेछ।”
अमेरिकामा रहेका नेपाली आप्रवासी समुदायका लागि TPS सुविधा रोजगारी, वैधानिक हैसियत र सुरक्षाको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । एनआरएनए अमेरिकाको नयाँ नेतृत्वले यस विषयलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी र कूटनीतिक पहल गर्ने तयारी गरेको छ ।