काठमाडौं ।नेपाल प्रहरीले सुरक्षात्मक सेवामा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गर्दै आएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ ।

मिति २०८२ भदौ ४ गते, केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी. सहितको टोलीले जिल्ला प्रहरी परिसर, काठमाडौंको विभिन्न पक्षको अध्ययन र प्रत्यक्ष अवलोकन गरेको हो ।
निरीक्षणका प्रमुख बुँदा
निरीक्षणका क्रममा टोलीले परिसरका भौतिक पूर्वाधारहरूको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपनाइएका रणनीति र प्राप्त उपलब्धिहरू, स्रोत साधनहरूको व्यवस्थापन, प्राविधिक र सूचना–प्रविधिको उपयोग, मानव स्रोत क्षमतावृद्धि र प्रशासनिक दक्षता सम्बन्धी विवरण लिएको थियो । साथै—

- विपद् व्यवस्थापन र न्यूनीकरण
- अपराध अनुसन्धानमा प्रयोग भइरहेको नविनतम् प्रविधि
- समुदाय–प्रहरी साझेदारी
- अपराध निवारणका जनचेतनामूलक कार्यक्रम
- पीडित मैत्री सेवाहरू
बारे पनि विस्तृत अवलोकन गरिएको थियो ।

एसएसपी विश्व अधिकारीको प्रस्तुति
निरीक्षणपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले प्रस्तुति दिएका थिए । उनले काठमाडौं जिल्लाको शान्ति–सुरक्षाको अवस्था, अपराध अनुसन्धानका प्रवृति, विगतमा हासिल उपलब्धिहरू र आगामी योजनाबारे जानकारी गराए । साथै,
- संगठनात्मक सुधार
- भौतिक पूर्वाधार सुदृढीकरण
- जनशक्ति क्षमता अभिवृद्धि
- प्रविधि–मैत्री सेवा विस्तार
लाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी उनले दिएका थिए ।

नेपाल प्रहरीले आफ्नो मुल नाराः “Nurturing Integrity – Networked Enforcement” अन्तर्गत पेशागत कार्यदक्षता अभिवृद्धि गर्ने, अपराध नियन्त्रणमा नवीनतम अभ्यासहरू अपनाउने र समुदायमैत्री प्रहरी सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।