वासिङ्टन डी.सी. – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा सुनिता खत्री विजयी हुनुभएको छ।
निर्वाचनमा विजयी भएपछि खत्रीले निर्वाचन समिति, मतदाताहरू, सञ्चारमाध्यम, स्वयंसेवक, व्यवस्थापन टोली तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भन्नुभयो, “एनआरएनए एनसीसी अमेरिकाको महिला उपाध्यक्षमा निर्वाचित हुनु मेरो लागि ठूलो सम्मान र गर्वको विषय हो। यो सम्भव बनाउनुभएको अटुट साथ, विश्वास र प्रोत्साहनका लागि सबैप्रति आभारी छु।”
खत्रीले चुनावी यात्रामा निर्वाचन समितिको अथक प्रयास, मतदाताहरूको सक्रिय सहभागिता, सञ्चारमाध्यमको निरन्तर समाचार प्रसारण तथा स्वयंसेवक र व्यवस्थापन टोलीको दिनरातको मेहनतलाई विशेष रुपमा स्मरण गर्नुभयो।
उहाँले समुदायप्रति इमानदारी, समर्पण र करुणासहित सेवा गर्ने दृढता व्यक्त गर्दै भन्नुभयो, “तपाईँहरूले मप्रति देखाउनुभएको विश्वास, सुझाव र चुनौतीहरूले मलाई अझ सबल बनाएको छ। यो जिम्मेवारीलाई ईमानदारीपूर्वक वहन गर्नेछु।”
खत्रीले आगामी दिनमा सबैसँग मिलेर अमेरिकी भूमिमा रहेका नेपाली समुदायलाई अझ सबल बनाउन तथा एनआरएनएलाई साझा मञ्चका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।