बर्दिया, असार १२ –
बर्दिया जिल्ला कारागारभित्रैबाट लागुऔषध गाँजा बरामद भएपछि कारागार प्रशासन र सुरक्षातन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
असार १२ गते बिहान, जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको विशेष टोलीले कैदीबन्दीहरूको विस्तृत चेकजाँच गर्ने क्रममा करीब ५ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र बहादुर डमरपालका अनुसार, बरामद गरिएको गाँजा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कैदी सोहन ढकालको विस्तरामा लुकाइराखिएको अवस्थामा फेला परेको हो।
“यस विषयमा थप अनुसन्धान जारी छ,” डीएसपी डमरपालले जानकारी दिनुभयो।
सुरक्षाकर्मीको संलग्नता विना सम्भव छैन: स्रोत
प्रहरी स्रोतका अनुसार, “कारागार भित्रबाट लागुऔषध फेला पर्नु अत्यन्त गम्भीर विषय हो। यो कुनै न कुनै कर्मचारीको संलग्नता विना सम्भव छैन। यसले कारागारको आन्तरिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।”
यस घटनाले कारागार व्यवस्थापन, निगरानी संयन्त्र र सुरक्षाकर्मीको भूमिकामाथि समेत पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताइएको छ।
कारागार प्रमुख मौन
घटनाबारे प्रतिक्रिया लिन खोज्दा कारागार कार्यालयका प्रमुख (जेलर) मान बहादुर साडुमगरले कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गर्नुभएको छ।
उनको मौनता झनै संशय उत्पन्न गराउने खालको रहेको भन्दै प्रहरी वृत्त र स्थानीय तहमा आलोचना सुरु भएको जानकारी गराउदै नेपाली कांग्रेस का प्रभावशाली नेता जगदीश्वर नरसिंह केसी ले घोर निंदा गरेका छन् ।