काठमाडौं, भदौ २२ ।युवा व्यवसायी दिपा सिम्खडा ले सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई सलाम गर्दै खड्ग ओली नेतृत्वको पुरानो शैलीको राजनीतिविरुद्ध स्पष्ट र धारिलो सन्देश दिएकी छन्। उनले आफ्नो स्टाटसमा Gen Z पुस्ताले उठाएको आवाजलाई नेपाल बचाउने घोषणाको रूपमा व्याख्या गरेकी छन्।
सिम्खडाले लेखेकी छन्, “अन्ततः कसैले त्यो कुरा गर्यो, जुन हामी सबैले हरेक दिन भोग्छौं तर मुख खोल्दैनौं। यो पुस्ताले दिएको आवाज इतिहासकै सबैभन्दा ठूलो र साहसी हो। ८ सेप्टेम्बर केवल मिति होइन, यो धमाका हो, यो पुस्ताले दिएको अन्तिम चेतावनी हो।”
उनले मौन रहनु अन्यायको समर्थन गर्ने अपराध भएको भन्दै सबै नेपालीलाई बोल्न आह्वान गरेकी छन्।
“भ्रष्ट संरचनालाई चुनौती दिनु, सार्वजनिक धनको हिसाब माग्नु नागरिकको कर्तव्य हो। यदि अझै मौन बसिन्छ भने त्यो मौनता अपराध हुन्छ,” उनको भनाइ छ।
सिम्खडाले देशका युवाले पसिना बेच्दै विदेशमा ज्यान गुमाउँदा पनि नेताका परिवारले विदेशी विलासितामा रमाइरहेको वास्तविकता चित्रण गरेकी छन्।
“गाउँका बालबालिका च्यातिएको चप्पलमा स्कुल पुग्छन्, तर त्यहाँ शिक्षक छैन। नेताका छोराछोरी भने करोडौँ खर्च गरेर विदेशमा पढ्छन्। नेताका कुकुरसम्म imported खाना खान्छन्, तर आम नेपाली आमा अस्पताल नपाएर प्राण गुमाउँछिन्,” उनले प्रश्न गरेकी छन्।
राजनीति टाढाको कुरा होइन भन्दै उनले जनतालाई सशक्त आवाज उठाउन प्रेरित गरेकी छन्।
“हाम्रो चुलोमा नबल्ने आगो राजनीति हो। हाम्रो बच्चाले रोजगार नपाउनु राजनीति हो। हाम्रो खेतले मल नपाउनु राजनीति हो। अनि किन हामी राजनीति हो भनेर नबोल्ने?”
अन्त्यमा उनले देशलाई घरसँग तुलना गर्दै भनेकी छन्, “देश हाम्रो घर हो। घरमा आगो लाग्दा घर तोडिँदैन, घरमा आगो लगाउनेलाई हटाइन्छ। अब समय आएको छ—अन्यायको अगाडि घुँडा नटेकेर सिधा उभिने।”
सिम्खडाको यो स्टाटसलाई सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया मिलिरहेको छ। धेरै युवाले उनलाई समर्थन जनाउँदै Gen Z को आन्दोलनलाई नेपाल बचाउने अभियानको रूपमा अगाडि बढाउन आह्वान गरेका छन्।