काठमाडौँ — २०६५ साल, नेपालले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको ऐतिहासिक क्षण। राजनीतिक दलहरूले दुई वर्षभित्र संविधान ल्याउने प्रतिज्ञा गरे, तर राजनीतिक अस्थिरता, सत्ता भागबण्डा र दलहरूबीचको मतभेदले संविधान लेखनको गति सुस्त रह्यो। संघीयताको मोडल, प्रदेशको नाम र सिमांकनजस्ता संवेदनशील मुद्दामा देशभर आन्दोलन र असन्तोष चर्कियो।
त्यसबेला ‘नेपाल बन्द’ राजनीतिक दबाबको प्रमुख हतियार बनेको थियो। यसको प्रत्यक्ष मार भने सर्वसाधारणभन्दा बढी स्कुल–कलेजका विद्यार्थीमाथि पर्थ्यो। बिहानै पुस्तक बोकेर घरबाट निस्केका विद्यार्थीहरू कहिले सामान्य हल्लाका आधारमा स्कुल बन्द हुने, कहिले कक्षाकोठासम्म पुगेपछि फर्किनुपर्ने बाध्यतामा पर्थे।
त्यसबेला मूलधारका सञ्चारमाध्यमहरू बन्द सम्बन्धी स्पष्ट र समयमै सूचना दिने अभ्यासमा थिएनन्। यही सूचना अभावको पीडा भोगिरहेका थिए, बाग्लुङका भिक्टर पौडेल, जो त्यतिबेला बालाजुस्थित ज्ञान मन्दिर माविमा अध्ययनरत थिए।
‘त्यसबेला म “गिभमीगोल डट कम” नामको वेबसाइटसँग पनि जोडिएको थिएँ, जसमा खेलकुदका समाचार राख्थ्यौं,’ भिक्टर स्मरण गर्छन्, ‘२०६७ सालमा एसएलसी दिएपछि लाग्यो—अब बन्दको सूचना दिने छुट्टै प्लेटफर्म चाहिन्छ।’
भिक्टरको यही सोचले पछि नेपालमा डिजिटल सूचना प्रवाहको एउटा नयाँ आयाम थपियो। जहाँ राजनीतिक घोषणाबाट सुरू भएको अस्थिरताले सडक र विद्यालय दुवै प्रभावित गरिरहेका थिए, त्यहाँ उनले इन्टरनेटमार्फत समयमै, विश्वसनीय र सजिलो ‘बन्द सूचना’ उपलब्ध गराउने सुरुवात गरे।
यो केवल सूचना प्रवाहको काम मात्र थिएन—यो हजारौं विद्यार्थी र अभिभावकका लागि अनावश्यक झन्झट र समयको क्षति कम गर्ने एउटा ‘डिजिटल आन्दोलन’ पनि बन्यो।