काठमाडौँ – हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका वरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता हेम थापाले रशुवा र भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट पीडित जनताको राहत र पुनःस्थापनाको लागि आर्थिक सहयोग गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत एउटा मार्मिक सन्देश लेख्दै, प्राकृतिक विपत्तिबाट आक्रान्त रशुवाका आमाबाबु, दाजुभाइ, दिदीबहिनीप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दै “यो दुखको घडिमा रशुवाका पिडितहरूमाथि लागेको घाउमा मलम लगाउने सानो प्रयास स्वरुप” आफूले Hem And Maya Foundation Nepal मार्फत रु ५०,००० (पचास हजार) सहयोग गर्ने निर्णय लिएको जनाएका छन्।
उनले थप लेखेका छन्, “भोटेकोशी र रशुवामा बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको खबरले मलाई अत्यन्तै दुःखी र मर्माहत बनाएको छ। देशबाट टाढा भए पनि पीडामा परेका नेपाली दाजुभाइको पीडामा मलहम लगाउनु हाम्रो कर्तव्य हो।”
नेपाली समाजसेवामा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएका हेम थापा विभिन्न विपत्तिका बेला देशका विभिन्न स्थानमा राहत र सहयोग पुर्याउँदै आएका एक अग्रज समाजसेवी हुन्। अमेरिका बसोबास गर्दै आएको दशकभन्दा बढी समयमै उनले दर्जनौं सामाजिक परियोजनाहरूमा सहयोग गर्दै आएका छन्।
Hem And Maya Foundation Nepal मार्फत थापाले यसअघि पनि शिक्षा, स्वास्थ्य र आपतकालीन राहतको क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन्। यसपटक रशुवा र भोटेकोशीका पीडितहरूप्रति देखाएको आत्मीयता र सहयोगप्रति स्थानीयवासी, सामाजिक अभियन्ता र गैरआवासीय नेपाली समाजबाट उच्च प्रशंसा गरिएको छ।
समाजसेवा र मानवीयताका यस्ता उदाहरणीय कार्यहरू आजको कठिन समयमा सबैका लागि प्रेरणा बन्ने निश्चित छ।