एंटवर्प, बेल्जियम – प्रवासी नेपाली समुदायको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियम द्वारा आयोजना गरिन लागेको दोस्रो संस्करणको “मोना बेल्जियम कप २०२५” भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने तयारीमा रहेको छ। प्रतियोगिता आगामी २०२५ जुन २४ तारिख, Plantin en Moretuslei 343, 2140 Antwerpen मा आयोजना हुँदैछ।

यस प्रतियोगितामा बेल्जियमभरिबाट विभिन्न नेपाली टोलीहरूको उत्साहजनक सहभागिता रहने विश्वास गरिएको छ। प्रतिस्पर्धी खेलको माध्यमबाट आपसी भाइचारा, सहकार्य र समर्पणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो प्रतियोगिता प्रति सहभागी र दर्शकहरूमा उत्साह चुलिएको छ।
प्रतियोगितालाई सफल बनाउन विभिन्न व्यक्तित्वहरूले सहयोग गर्दै आएका छन्। यस्तै सहयोगी भूमिकामा रहनुभएकी श्रीमती रुबिना शर्मा ले रु ५१ युरो आर्थिक सहयोग प्रदान गर्दै प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याउनुभएकोमा आयोजक संस्थाले विशेष धन्यवाद प्रकट गरेको छ।
मोना बेल्जियम परिवारद्वारा सार्वजनिक गरिएको धन्यवाद ज्ञापनमा उल्लेख छ, “रुबिना शर्माज्यूबाट प्राप्त सहयोग यस संस्थाको लागि अतुलनीय छ। उहाँको योगदानलाई उच्च सम्मान गर्दै हामी हार्दिक आभार व्यक्त गर्दछौं।”
आयोजक टोलीले जनाएको छ कि, यो प्रतियोगिता प्रवासी नेपालीहरूको आपसी सम्बन्ध मजबुत पार्ने, खेलकुद प्रवर्द्धन गर्ने र नेपाली समुदायको एकता प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा लिइएको छ।
समाजसेवामा अग्रसर, प्रवासी नेपाली समुदायप्रति उत्तरदायी युवा पुस्ताको समर्थन र सक्रिय सहभागिताले नै यस्ता कार्यक्रमहरू सफल बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। साथै, प्रतियोगिताको व्यवस्थापन, खेल मैदान तयारी, सहभागिता दर्ता र अन्य सबै पक्षलाई व्यवस्थित बनाउनेतर्फ गम्भीर ध्यान दिइएको जानकारी दिइएको छ।
मोना बेल्जियम परिवारले यसअघि पनि नेपाली संस्कृति, खेलकुद र समुदायको सम्बन्ध सुदृढ गर्न यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यस वर्षको प्रतियोगिता भव्य तयारीसहित सम्पन्न गरिने जानकारी मोना बेल्जियम आयोजक समितिले एस नेपाललाई दिएको छ।