मनासस, भर्जिनिया ।नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले यस वर्षको महान चाड बडादशैं, २०२५ को अवसरमा विशेष पूजा–आराधना तथा भजन–कीर्तन कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम भर्जिनियाको मनाससस्थित 10501 Balls Ford Rd मा असोज १२ गते (फूलपाती), असोज १३ गते (महाअष्टमी) र असोज १४ गते (महानवमी) साँझ ५ बजेदेखि ८ बजेसम्म आयोजना हुने जानकारी दिएको छ।
एनआरएनए एनसीसी अमेरिकाकी महिला उपाध्यक्ष सुनिता खत्रीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसपटकको दशैंलाई प्रवासमा पनि नेपालकै झल्को दिने गरी भक्तिपूर्वक मनाउन सबैलाई आग्रह गरेकी छन्। उनले प्रवासमा बस्दा पनि संस्कार, संस्कृति र मौलिक परम्परालाई जोगाउँदै अगाडि बढ्नु नै सच्चा नेपालीपन भएको उल्लेख गरेकी छन्।
कार्यक्रममा पूजा–आराधना, देवी भजन र सांस्कृतिक प्रस्तुति रहने बताइएको छ। भक्तजनले दशैंको प्रसादका रूपमा जमरा पनि पाउनेछन्। यसका लागि आयोजकले QR code स्क्यान गरी फाराम भर्ने व्यवस्था समेत मिलाएको छ।
आयोजक समितिका अनुसार, कार्यक्रमलाई सहज बनाउन अरुण रुपाखेती, ज्योतिष पण्डित राजेन्द्र खनाल, राजन अधिकारी, तोया पौडेल, सुनिता खत्री र बिन खड्कालामाले सम्पर्क व्यक्ति भएर समन्वय गर्नेछन्।
एनएसीसीले यस वर्षको दशैंलाई विशेष बनाउन eNepalese मार्फत लाइभ प्रसारण समेत गर्ने जनाएको छ।