काठमाडौं, भदौ ३१ – लामो समयदेखि सामाजिक सेवा, जनचेतना र मानवीय सेवामा समर्पित वरिष्ठ समाजसेवी हेम थापाले सामाजिक सञ्जालमार्फत अत्यन्त भावुक र पीडादायक सन्देश सार्वजनिक गरेका छन्। उनले आफ्नो जीवनका संघर्ष, आरोप, अपमान र समाजबाट पाएको तिरस्कारलाई उल्लेख गर्दै भावनात्मक अभिव्यक्ति दिएका छन्।
थापाले लेखेका छन्:“माफ गर प्रिय, तिमी मसँग विवाह गर्नु नै तिम्रो लागि अभिशाप भयो..! नेपाल र नेपालीका लागि यति ठुलो योगदान दिए पनि, कुनै गल्ती नगरेको अवस्थामा पनि मलाई बदनाम गरियो, चरित्र हत्या गरियो, गाली, बेइज्जती र अपमान सहनु पर्यो। अरूका अगाडि गिराउन खोजियो।”
उनले आफ्नो जीवनमा धेरै दुखका दिनहरू व्यतीत गरेको उल्लेख गर्दै थप लेखेका छन्:“कुनै दिन एक छाक खाना आँसु बिना खान पाइएन, कुनै रात शान्तिपूर्वक सुत्न पाइएन। अरूलाई हँसाउने प्रयास गर्दा पनि, गाली, बदनाम, तिरस्कार र तनाव मात्र पाइयो। न पैसा छ, न जग्गा जमिन, न स्वास्थ्य नै बाँकी छ।”
थापाको यो स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। धेरैले उनको साहस, सेवा भावना र खुलेर मनको पीडा व्यक्त गर्ने क्षमताको प्रशंसा गरेका छन्। साथै, उनीप्रति देखाइएको सामाजिक व्यवहारप्रति गहिरो चिन्ता र सहानुभूति पनि प्रकट गरिएको छ।
एक सामाजिक अभियन्ताका रूपमा हेम थापा लामो समयदेखि समाजका विविध तहमा काम गर्दै आएका छन्। उनले विपन्न वर्ग, बालबालिका, वृद्ध, अपाङ्ग र पीडित समुदायहरूका लागि उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
तर, पछिल्लो समय उनलाई समाज र नजिकका व्यक्तिहरूबाट नै मानसिक पीडा, आरोप, गाली र निरन्तर तिरस्कारको सामना गर्नुपरेको उनको अभिव्यक्तिबाट बुझिन्छ।
थापाले अन्त्यमा यस्तो मर्मस्पर्शी वाक्य लेखेका छन्:“तिम्रो लागि मात्र होइन, म नेपाल र नेपालीकै लागि नै अभिशाप भएर जन्मेको रहेछु… काल पनि किन नआएको होला मलाई?”
उनको यो स्टाटसले गम्भीर सामाजिक प्रश्न उठाएको छ — के समाजले साँचो सेवा गर्ने व्यक्तिहरूको सम्मान गर्न जान्दछ? वा अन्ततः उनीहरूलाई तिरस्कार र उपेक्षाको भारी बोकाएर चुप लाग्न बाध्य पार्दछ?