काठमाडौं । समाजसेवी यम तमुले हालै सरकारको मन्त्रिपरिषद् विस्तारमा एकैसाथ तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
कुलमान घिसिङलाई सरकारले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, तथा उर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयको नेतृत्व सुम्पिएको छ। यति महत्वपूर्ण र ठूलो दायित्व एकैपटक सुम्पिनु सरकारको घिसिङप्रतिको विश्वास मात्र नभई जनतामाझ उहाँले कमाएको इमानदारी, दृढता र परिणाममुखी कार्यशैलीको पनि कदर हो भन्ने समाजसेवी तमुको विश्वास छ।
यम तमुका अनुसार, घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहेर देशलाई ‘लोडसेडिङमुक्त’ बनाउन गरेको ऐतिहासिक योगदान आज पनि जनताले हृदयमा बोकेर हिँडिरहेका छन्। त्यसपछि उहाँले उर्जा क्षेत्रमा देखाएको कार्यकुशलता र नीतिगत दृढताले घिसिङलाई जनताको विश्वासिलो नेतृत्वको रुपमा स्थापित गराएको छ।
“आज तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिनु केवल कुलमान घिसिङको व्यक्तिगत उपलब्धि मात्र होइन, यो देशकै भाग्य परिर्वतन गर्ने अवसर हो,” तमुले भने, “इमान्दार, पारदर्शी र देशप्रेमी व्यक्तित्वले विकासका आधारभूत क्षेत्रमा नेतृत्व पाउनु हामी सबै नेपालीका लागि आशा र गर्वको विषय बनेको छ।”
यम तमुले आगामी दिनमा घिसिङको नेतृत्वले नेपालको पूर्वाधार, यातायात, सहरी विकास तथा उर्जा क्षेत्रलाई नयाँ दिशामा डोर्याउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।