काठमाडौं, २३ भदौ । नेपालमा जारी Gen Z आन्दोलन र त्यसप्रति भएको सरकारी दमनबारे अमेरिका निवासी एनआरएनए नेता एवं युवा व्यवसायी महेन्द्र बस्नेतले तीव्र आपत्ति प्रकट गरेका छन्। उनले नेपाली कांग्रेस नेतृत्वलाई सीधा चुनौती दिँदै हत्यारा सरकारसँग सहकार्य नगर्न आग्रह गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत् लेखेका छन्, “हेल्लो Gagan Thapa and Bishwa दाइ, हत्यारा सरकार र र्याल काडेर सत्ताका लागि बसेको पार्टी नेतृत्वको मतियार नबन्नुस प्लीज। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तुरुन्त बोलाएर हत्यारा सरकारबाट बाहिर बस्ने निर्णय गर्नुस।”
उनले कांग्रेसलाई सरकारको छानबिन समितिमा मात्र सीमित नभई प्रत्यक्ष हत्यारालाई कारबाही गर्ने पक्षमा स्पष्ट निर्णय लिन आह्वान गरेका छन्। बस्नेतका अनुसार, यो कठिन घडीमा नेपाली कांग्रेसले समग्र जनताको नेतृत्व गर्ने साहस देखाउन जरुरी छ।
बस्नेतले चेतावनी दिंदै भनेका छन्, “यदि तपाइँहरूले साहसिक निर्णय लिन सक्नुभएन भने जनताले तपाइँहरूलाई पनि नालायक ठहराउनेछन्।”
विदेशमा रहेर पनि नेपाली युवापुस्ताका आवाजलाई समर्थन गरिरहेका बस्नेतले नेपाली कांग्रेसका नेताहरूसमक्ष दिएको यस दृढ अभिव्यक्तिलाई व्यापक प्रतिक्रिया मिलिरहेको छ। उनका अनुसार, यो आन्दोलन केवल राजनीतिक मुद्दा नभई देशको भविष्य, न्याय र अस्मिताको प्रश्न बनेको छ।
विशेषज्ञहरूका अनुसार, अमेरिका जस्ता मुलुकमा रहेर नेपाली प्रवासी नेताहरूले व्यक्त गरेको समर्थनले आन्दोलनलाई अन्तर्राष्ट्रिय ध्यानाकर्षणमा पुर्याएको छ। बस्नेतजस्ता युवानेता र व्यवसायीहरूको कडा अभिव्यक्तिले कांग्रेस नेतृत्वमाथि दबाब बढाउने निश्चित देखिन्छ।