काठमाडौं । एनआरएनए आईसीसीकी महिला संयोजक रश्मि काली थापाले भोलि हुने Gen Z अभियान शान्तिपूर्ण र संयमित ढंगले सञ्चालन गर्न आग्रह गरेकी छन् । उनको भनाइमा, Gen Z केवल अहिलेको नयाँ पुस्तामात्र नभई समयानुकूल आधुनिक प्रविधि र नयाँ प्रविधिहरू सजिलै अपनाउन सक्ने पुस्ता वा व्यक्ति नै हो ।
थापाले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, “अहिलेको नयाँ पुस्ता मात्र समय अनुकूल परिभाषामा Gen Z पुस्ता होला तर हामी पनि आधुनिक प्रविधि र नयाँ नयाँ टेक्नोलोजीहरू अपनाउन सक्ने र काम गर्न सक्ने भएकाले Gen Z को अभिन्न अङ्ग हामी पनि हौँ भन्ने लाग्छ ।”
उनले आन्दोलनलाई हिंसात्मक ढंगमा नगर्न चेतावनी दिँदै भनेकी छन्, “हाम्रो अधिकार ढुंगा–मुढा, लाठीचार्ज, तोडफोड र दुरुपयोग गरेर पूरा हुँदैन । भोलिको आन्दोलन अत्यन्तै संयमित र शान्तिपूर्ण ढंगले गर्नुपर्छ ।”
भोलि आन्दोलनका लागि तय गरिएको मैतीघर मण्डला नेपालको अति संवेदनशील स्थान भएकाले कुनै पनि अप्रिय घटना नघटाओस् भन्ने थापाको आग्रह छ । “मैतीघरको वरिपरि सिंहदरबार, देशको सबैभन्दा ठूलो सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, सेना–प्रहरी कार्यालयहरू छन् । यदि हामीले नचाहेको अशान्ति वा दंगा भयो भने ठूलो क्षति हुन सक्छ,” उनले भनेकी छन् ।
उनले आफ्ना दिदी–भाइ दाजु–बहिनीहरूलाई सम्बोधन गर्दै भनिन्, “मैले नम्र अनुरोध गर्दछु, ढुंगा हानेर वा लाठी खाएर होइन, शान्तिपूर्ण तरिकाले आफ्ना माग राखौँ । शान्तिपूर्ण छलफलमार्फत आफ्नो अधिकार प्रस्तुत गरौँ ।”
थापाले अन्त्यमा ‘जय Gen Z’ भन्दै भोलिको प्रदर्शनलाई शान्त र प्रभावकारी बनाउन सबैलाई आह्वान गरेकी छन् ।