जनकपुर, १४ अगस्ट २०२५ — मधेश प्रदेश सरकारले आफ्नो महत्वाकांक्षी परियोजना ‘घुमौं मधेश, बुझौं मधेश’लाई सार्थक बनाउन भारतका रक्षामन्त्री राजनाथ सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ।
बिहीबार दिल्लीमा अभियानका संयोजक विकासकुमार ठाकुर स्वयं उपस्थित भई मन्त्री सिंहलाई प्रत्यक्षरूपमा ज्ञापनपत्र हस्तान्तरण गरे। उक्त मागपत्रमा धार्मिक पर्यटनको साझा संभावनालाई मूर्तरूप दिन नेपाल–भारत दुबै सरकारबीच गहिरो समन्वयको आवश्यकता औंल्याइएको छ।
ज्ञापनका मुख्य बुँदाहरू यस प्रकार छन्—
- जनकपुर–अयोध्या धार्मिक पर्यटक कोरिडोर निर्माण
- भारतबाट मधेश प्रदेशका धार्मिक स्थलसम्म बस/रेल सेवा सञ्चालन
- अयोध्याबाट जनकपुरधामसम्म सीधा हवाई सेवा प्रारम्भ
- नेपाल र भारतको पर्यटन नीतिमा जनकपुरधामलाई रामायण सर्किटमा विशेष स्थान
- ‘सीता बिना राम अधुरो’ भन्दै भारतमै जनकपुरधामको व्यापक प्रचार
- अयोध्या/वाराणसीमा डिजिटल बोर्डमार्फत मधेशका धार्मिक स्थलको प्रवर्द्धन
- मधेशका प्रमुख स्थलको अन्तर्राष्ट्रियकरणका लागि सहयोग
- भारतको पर्यटन नीतिमा मधेशका धार्मिक स्थललाई सीमा पर्यटनको रूपमा सूचीकृत गर्ने
- दुवै देशका धार्मिक स्थलको प्रचार–प्रसारका लागि संयुक्त अभियान सञ्चालन
ज्ञापनपत्रमा जनकपुरधाम, गढिमाई, दशरथ टापु, देवघाट, चन्द्रगिरी पर्वत लगायत मधेशका प्रमुख धार्मिक स्थलहरूको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसले नेपाल–भारतको साझा सांस्कृतिक इतिहासलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
संयोजक ठाकुरका अनुसार, “यो केवल पर्यटनको कुरा मात्र होइन, यो सांस्कृतिक पुनर्जागरणको अभियान हो। यदि यी मागहरू कार्यान्वयन भए, मधेश र भारतबीचको सम्बन्ध र धार्मिक पर्यटन दुवै ऐतिहासिक उचाइमा पुग्नेछन्।”
यस भेटवार्ताले नेपाल–भारत धार्मिक पर्यटन सहकार्यलाई नयाँ ऊर्जा दिने आशा गरिएको छ, र ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान अब भारतको उच्च राजनीतिक तहमा प्रत्यक्ष पुगिसकेको छ।