काठमाडौँ, अगस्ट १४, २०२५ — संयुक्त अपांग एकता आवाज केन्द्रका संस्थापक तथा अध्यक्ष तिल बहादुर कार्की र डा. पिया रत्न महर्जन हाल युनाइटेड किङ्डम (यूके) भ्रमणमा छन्। यो यात्रा विशेष गरी ६० जना अपांगता भएका तथा अनाथ बालबालिकाको भवन निर्माणका लागि आवश्यक सहयोग जुटाउने महान उद्देश्यका लागि गरिएको हो।
अध्यक्ष कार्कीका अनुसार, भवन निर्माण सम्पन्न भएपछि बालबालिकाहरूको शिक्षा, स्वास्थ्य र आवास सुविधामा गुणात्मक सुधार आउनेछ। यस अभियान अन्तर्गत उनीहरू यूकेमा रहेका नेपाली समुदाय, समाजसेवी तथा दाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै सहयोग अपिल गर्नेछन्।
यो यात्राको क्रममा कार्कीको टोलीले यूकेमा बसोबास गर्ने महान समाजसेवी जोडी राज सुनार र सान्ती सुनारसँग पनि विशेष भेट गर्नेछ। राज–सान्ती सुनारले विगतदेखि नै समाजसेवा, मानविय सहयोग र समुदाय upliftment का क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका छन्।
संयुक्त अपांग एकता आवाज केन्द्रले विगतदेखि नै अपांगता भएका बालबालिकाको शिक्षा, पुनर्स्थापना र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष कार्कीको भनाइमा, “यो भवन निर्माण केवल इँटा र सिमेन्टको कुरा होइन, यो त ६० बालबालिकाको जीवनलाई नयाँ उज्यालोतर्फ मोड्ने सपना हो।”
समाजसेवा र सहयोगको यो सन्देशसहितको यूके यात्रा दुवै देशका नेपालीहरूलाई जोड्ने मात्र होइन, ६० जना बालबालिकाको भविष्य सुन्दर र सुरक्षित बनाउने ऐतिहासिक अभियान बन्ने अपेक्षा गरिएको छ।