लस एन्जलस, १३ अगस्ट २०२५ — आगामी १६–१७ अगस्टमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिका निर्वाचनका अध्यक्ष पदका उम्मेदवार सतेन्द्र शाहले मतदातालाई ड्राइभर लाइसेन्सको प्रतिलिपि र सेल्फी पठाउनुपर्ने हालसालैको निर्वाचन आयोगको निर्देशनलाई गैरकानुनी र गैरब्यवहारिक भन्दै कडा आपत्ति जनाएका छन्।
मुख्य निर्वाचन आयुक्त वासु फुल्लारा र अन्य आयुक्तलाई पठाएको औपचारिक पत्रमा शाहले एनआरएनए एनसीसी अमेरिका विधानले एक पटक प्रकाशन भएको मतदाता सूचीमा आयोगलाई फेरबदल, संशोधन वा मतदान अधिकारमा प्रतिबन्ध लगाउने अधिकार नदिएको प्रष्ट पारेका छन्। उनले सरकारी परिचयपत्र र फोटो जस्ता व्यक्तिगत संवेदनशील विवरणको संकलन विधानमा स्पष्ट प्रावधानबिनाको कार्य भएको भन्दै, यसले मतदाताको पहिचान चोरी (Identity Theft) जस्ता गम्भीर आशंका उत्पन्न गर्ने चेतावनी दिएका छन्।
शाहले विधान अनुसार निर्वाचन कार्यकारी समितिबाट प्राप्त मतदाता सूचीकै आधारमा ३० दिनभित्र सम्पन्न गर्नुपर्ने प्रावधान रहेको स्मरण गराउँदै, निर्वाचन मिति नजिकिँदै गर्दा (१४ अगस्टको म्याद तोकिएको) यस्तो निर्देशन व्यावहारिक र कानुनी रूपमा असम्भव भएको टिप्पणी गरेका छन्।
उनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण माग्दै दुई विषयमा स्पष्ट जवाफ दिन आयोगलाई आग्रह गरेका छन् —
१. हालको निर्देशनको कानुनी र प्रक्रियागत आधार।
२. मतदाता दर्तादेखि मतदान, मतगणना र नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया स्पष्ट विवरणसहित सार्वजनिक गर्ने योजना।
शाहले चेतावनी दिएका छन् कि मागिएको समयसीमा भित्र जवाफ नआएमा उनी—
- सम्पूर्ण सदस्य र सरोकारवालालाई, सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट, जानकारी गराउने।
- सम्बन्धित अमेरिकी कानुनी निकायहरू, विशेष गरी राज्यका अटर्नी जनरलको कार्यालयमा औपचारिक उजुरी दिने।
शाहले निर्वाचन आयोगलाई विधानको पूर्ण पालना गर्न, सबै योग्य सदस्यको मतदान अधिकार सुरक्षित राख्न र निर्वाचन पारदर्शी र कानुनी रूपमा सम्पन्न गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।
यो पत्रको प्रतिलिपि एनआरएनए एनसीसी अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडे, बोर्ड सदस्य, पूर्व अध्यक्षहरू, एनआरएनए आईसीसी, तथा जीवन र साधारण सदस्यलाई पठाइएको छ।