टेक्सास, अमेरिका — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NCC-USA) को २०२५–२०२७ कार्यकालका लागि अगस्ट १६ र १७ तारिखमा हुन गइरहेको निर्वाचनमा टेक्सास निवासी समाजसेवी, मृदुभाषी तथा शिक्षाविद् बाबुराम काफ्लेले बोर्ड अफ डाइरेक्टर्स पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारी सतेन्द्र शाहको टिमसँग जोडेर प्रस्तुत गरेका छन्।
“एनआरएनएमा एकता, आजको आवश्यकता” भन्ने मूल नारासहित चुनावी अभियान अघि बढाएका काफ्लेले पारदर्शिता, उत्तरदायित्व, समावेशिता र परिणाममुखी कार्यदिशालाई आफ्नो अभियानको केन्द्रमा राख्ने स्पष्ट संकल्प व्यक्त गरेका छन्। उनका अनुसार, एनआरएनएको नेतृत्व साझा सोच, सहभागिता र जवाफदेहीतामा आधारित हुनुपर्छ, र संस्थागत सुधार तथा समावेशी संरचनाबाट मात्र यसलाई विश्वसनीय र प्रभावशाली बनाउन सकिन्छ।
काफ्ले भन्छन्— “नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ। जब अमेरिका आएँ, त्यही सेवाभावलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने सोच बनाएँ।” प्रवासी नेपालीहरूबीच उनको यो सोच र प्रयासले सकारात्मक लहर उत्पन्न गरेको अमेरिकी नेपाली समाजका विज्ञहरूको धारणा छ।
शिक्षा, सामाजिक सेवा र संस्थागत सुधारमा लामो अनुभव बोकेका काफ्ले नेतृत्वको नयाँ धारका रूपमा उदाउँदैछन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको कार्यअनुभवले उनलाई एनसीसी अमेरिकालाई नयाँ दिशा दिन सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।
दोलखा जिल्ला तामाकोसी गाउँपालिका–१, भिरकोट स्थायी घर भएका काफ्ले नेपाली भाषा र साहित्यका स्नातकोत्तर हुन्। लेखन, पुस्तक प्रकाशन, शिक्षण, र विभिन्न संस्थाको नेतृत्वमा सक्रिय रहँदै आएका उनले समाजसेवा, साहित्य, शिक्षा र राजनीतिक सचेतनाको क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।
उनको प्रमुख चुनावी एजेन्डा प्रवासी नेपालीको हकहित सुनिश्चित गर्दै पारदर्शी, जवाफदेही र सिद्धान्तमा आधारित नेतृत्व स्थापना गर्नु हो। काफ्ले भन्छन्— “आजको चुनौती सामना गर्न पारदर्शी नेतृत्व अपरिहार्य छ। मेरो उम्मेदवारी यसको ज्वलन्त उदाहरण बनाउनको लागि हो।”
एनआरएनए अमेरिकाको चुनावी माहोलमा काफ्लेको उम्मेदवारीले राजनीतिक प्रचारभन्दा बढी संस्थागत नवीकरण, नीतिगत सुधार र सेवामूलक नेतृत्वको लहर ल्याएको अमेरिकी नेपाली समुदायको अनुभव छ।