दक्षिण कोरियामा कार्यरत करिब एक लाख नेपालीहरूको भावना, पहिचान र सहभागितामाथि गम्भीर प्रहार भएको भन्दै हालै सम्पन्न “नेपाल डे” कार्यक्रमप्रति व्यापक असन्तुष्टि व्यक्त गरिएको छ। नेपाली राजदूतावास, सोलद्वारा आयोजित उक्त कार्यक्रममा केवल सीमित पहुँचवालामात्र सहभागी गराइनु, विविध समुदायको उपेक्षा, र औपचारिकता मात्रमा सीमित भएर सम्पन्न गरिनु – यी सबैले राजदूतावासको भूमिका र उद्देश्यमै प्रश्न उठाएको छ।
सबै नेपालीका लागि साझा उत्सवको रूपमा मनाइनुपर्ने नेपाल डे, यसपटक मुठ्ठीभर मानिस र औपचारिक सम्बोधनहरूमै सीमित रहँदा, कोरियामा पसिना बगाइरहेका हजारौं नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी र समुदाय नेताहरूको आवाज पूर्णतः बेवास्ता गरिएको छ।सबैभन्दा गम्भीर सवाल भने विविधता र समावेशिताको पूर्ण अभावमा उठाइएको छ।
खोइ त मधेसी, थारू, आदिवासी जनजाति, महिला र अन्य समुदायको सहभागिता?
यो आवाज अब व्यक्तिगत आलोचना होइन, सामूहिक असन्तोष र सचेत नेपाली समुदायको प्रतिविम्ब हो। राजदूतावास एउटा राष्ट्रिय प्रतिनिधि संस्था हो, जहाँ सबै जात, क्षेत्र, भाषा र वर्गका नेपालीहरूको समान प्रतिनिधित्व र समावेशिता अनिवार्य हुन्छ। तर हाल देखिएको एकपक्षीय कार्यक्रम व्यवस्थापनले राजदूतावास एक विशिष्ट घेराभित्र सीमित, पहुँचवालामै सीमित र विभेदपूर्ण व्यवहारको प्रतीक बनेको महसुस गराइएको छ।
के यही हो कोरियामा नेपाली राजदूतको भूमिका?
राजदूतको कुर्सीमा बस्ने व्यक्ति केवल शिष्टाचारदूत मात्र होइन, प्रवासी नेपालीहरूको माया, सम्मान र सुरक्षाका संवाहक पनि हुनुपर्ने हो। तर यहाँ देखिएको परिदृश्यमा राजदूतावास जनता र सरकारबीचको पुल बन्नुको साटो, पहुँचवालाको किल्ला बनेको देखिन्छ।
एक सहभागीले दुखेसो पोख्दै लेखेका छन् –“हामी यहाँ पसिना बगाइरहेका नेपालीहरूलाई ‘नेपाल डे’ मा ठाउँ नदिने भनेपछि त्यो कुन देशको गौरव मनाइएको हो?”
आगामी नेपाल डे – सबै नेपालीको होस्, केहीको मात्र होइन
नेपाली समुदायले अब राजदूतावाससँग न केवल जवाफ मागिरहेको छ, चेतावनी पनि दिइरहेको छ –“नेपाल डे हाम्रो हो, हामी सबैको हो। यदि यसमा सबै समुदायको सहभागिता सुनिश्चित गरिएन भने, हामी त्यसको विरोध जारी राख्नेछौं।”
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यसको प्रतिनिधित्व पनि मधेश, थारू, जनजाति, पहाडी, हिमाली सबै नेपालीको बराबरी सहभागितामार्फत मात्र सम्भव हुन्छ।