नुवाकोट, असार १३ —नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ मा असार १२ गते राति परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले एक पीडादायी घटना निम्त्याएको छ। यस भीषण प्राकृतिक विपत्तिमा प्रिय मित्र लालबहादुर बलामीका जेठा छोरा अशोक बलामीकी धर्मपत्नी कमला बलामी पहिरोले बगाउँदा मृत फेला परेकी छिन्।

वर्षापछि भएको बाढी तथा पहिरोले कमला बलामीलाई बगाएको खबरपछि सुरु गरिएको खोजतलास अभियानका क्रममा उनको शव नुवाकोटको कोल्पुटारस्थित स्थानमा फेला परेको हो। घटनाले समग्र स्थानीय समाजलाई स्तब्ध बनाएको छ भने बलामी परिवारमा अपूरणीय क्षति पुगेको छ। अशोक बलामी घटनामा घाइते भएका छन् र अहिले उनको स्वास्थ्य उपचार भईरहेको छ।

घटनाले सबैलाई मर्माहित बनाएको बेला नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी स्वयं घटनास्थल पुगेका थिए। उनले आफ्नो नेतृत्वमा रहेको टिममार्फत पीडित परिवारलाई तत्काल राहतस्वरूप रु १०,०००/- हस्तान्तरण गरेका छन्। राहत वितरण “प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समूह, नुवाकोट” को समन्वयमा गरिएको हो।

नेता केसीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो। पीडित परिवारलाई यस्तो घडीमा साथ दिनु हाम्रो कर्तव्य हो।”

तर यस घटनामा केन्द्र र प्रदेश सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएको कुराले स्थानीय जनस्तरमा निराशा र आक्रोश छाएको छ। यस्तो दुखद घडीमा राज्यका सम्बन्धित निकायहरू सक्रिय नहुनु अत्यन्त दुःखद विषय भएको जनगुनासो आएको छ।

जगदिश्वर नरसिंह केसी नेपाली कांग्रेस भित्र स्वच्छ छवि भएका भीजनरी नेता मानिन्छन्। राजनीति मात्र नभई सामाजिक सेवामा समेत निरन्तर क्रियाशील रहँदै आएका केसी विपद्का बेला सधैं अग्रपंक्तिमा देखिन्छन्। यस घटनामा पनि उनले तुरुन्त सक्रियता देखाउँदै पीडित परिवारलाई आर्थिक र नैतिक समर्थन प्रदान गरेका छन्।

“घाम लागोस् यो घाउमा छिट्टै,” भन्दै केसीले अशोक बलामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
संपूर्ण नेपाली समाजले यस्तो विपत्तिको बेलामा एकअर्कालाई साथ दिने मानवीय मूल्यलाई पुनः एकपटक देखाएको यस घटनाले सरकारका संयन्त्रहरू अझ प्रभावकारी ढंगले परिचालित हुनु पर्ने खाँचो देखाएको छ।