काठमाडौं, २ जुलाई २०२५ –गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले वेल्जियम, नेदरल्याण्ड, कतार, युएइजस्ता देशहरूमा समानान्तर समिति गठन गरिएको कार्यलाई गम्भीर आपत्ति जनाउनु भएको छ। उहाँले बद्री केसीजी नेतृत्वको समूहद्वारा विभिन्न राष्ट्रिय समन्वय परिषदहरूमा सुरु गरिएको विभाजनकारी गतिविधि संघको मूल मर्म र मान्यताविपरीत रहेको स्पष्ट पार्नुभएको छ।

“एनआरएनएको केन्द्रमा विवाद भए पनि राष्ट्रिय समन्वय परिषदहरूमा विवाद गर्न, विभाजन ल्याउन हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो,” अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ। तर, यस अवधारणालाई बेवास्ता गर्दै केसीजी समूहले विदेशी भूमि प्रयोग गरेर एनआरएनएको आन्तरिक एकतालाई भंग गर्ने किसिमको कार्य गरिरहेको आरोप उहाँले लगाउनुभयो।
श्रेष्ठले यस्ता कार्यहरूलाई “घोर भर्त्सना” गर्दै एनआरएनएको संस्थागत अखण्डता, अनुशासन र ऐक्यबद्धताको रक्षा गर्न सबैमा आग्रह गर्नुभएको छ। उहाँले स्पष्ट रूपमा भनेका छन् – “यस किसिमका कार्यहरूले एनआरएनएजस्तो विश्वव्यापी संगठनको प्रतिष्ठा र उद्देश्यमा गम्भीर आँच पुर्याउँछ।”
उक्त विषयमा एनआरएनएको आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष श्रेष्ठले आज २०७९ असार १८ गते, बुधवार (२ जुलाई २०२५) साँझ ६ बजे नेपाली समयअनुसार जुममार्फत सार्वजनिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको छ।
Zoom विवरण:
Zoom ID: 231 279 7538
Password: 2024
श्रेष्ठले सबै एनसीसी प्रतिनिधिहरू, एनआरएन अभियन्ताहरू, पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई संस्थाको हितमा आफ्नो योगदान पुर्याउन हार्दिक आग्रह गर्नुभएको छ।