वाल्टिमोर, अमेरिका – २०८२ असार।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष महेश कुमार श्रेष्ठले यही जुन ११ देखि २३ सम्म सम्पन्न अमेरिका भ्रमणलाई सफलतापूर्वक सम्पन्न गरेका छन्। भ्रमणका क्रममा उहाँले विभिन्न सम्मान, स्वागत तथा अन्तरक्रियामूलक कार्यक्रमहरूमा सहभागिता जनाउनुका साथै नेपाली राजदूत तथा उच्च कूटनीतिक अधिकारीहरूसँग पनि महत्वपूर्ण भेटघाट र छलफल गर्नुभएको छ।

विशेषरूपमा जुन २० तारिख अमेरिकाको बाल्टिमोरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (NRNA NCC USA) द्वारा अध्यक्ष श्रेष्ठको नेतृत्वमा कार्यरत वर्तमान कार्यसमितिको सम्मानमा एक भव्य स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा डा. अर्जुन वन्जाडे र इन्जिनियर सूर्य लम्सालबीचको सहमतिसँगै अमेरिकामा एनआरएन एकताको सकारात्मक वातावरण निर्माण भएको अध्यक्ष श्रेष्ठले जनाएका छन्।

भ्रमणका क्रममा अध्यक्ष श्रेष्ठले अमेरिकाका लागि नेपाली महामहिम राजदूत लोकदर्शन रेग्मी, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्यूयोर्कस्थित कन्सुलेट जनरल ददीराम भण्डारी तथा डेपुटी कन्सुल जनरल चक्र सुवेदीसँग पनि भेटघाट तथा संवाद गरेका थिए। यस भेटघाटलाई गैरआवासीय नेपाली समुदायसँग नेपाल सरकारबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रयासको रूपमा लिइएको छ।

यस्तै, अध्यक्ष श्रेष्ठको अमेरिका भ्रमण अन्तर्गत विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएका थिए :
- जुन १२ मा सान फ्रान्सिस्कोमा NRNA क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रम
- जुन १५ मा डालसमा रहेका विभिन्न संस्थाहरूद्वारा सम्मान तथा अन्तरक्रिया कार्यक्रम
- जुन १६ मा मित्र गौरी जोशीद्वारा आयोजित अध्यक्ष श्रेष्ठको जन्मदिनको अवसरमा स्वागत तथा अन्तरक्रिया
- जुन २० मा बाल्टिमोरमा एनआरएनए एनसीसी अमेरिका र पर्वत तथा बागलुङ समाजको संयुक्त स्वागत
- जुन २१ मा न्यूयोर्कमा दर्ता रहेको NRNA USA द्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रम

यस्ता कार्यक्रमहरूले गैरआवासीय नेपाली समुदायबीच आपसी सम्बन्ध, सञ्जाल विस्तार र एनआरएन अभियानलाई थप गतिशील बनाएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

कार्यक्रमहरूको सफल आयोजनाका लागि आयोजक समितिहरू, सहभागी सम्पूर्ण महानुभावहरू, सहयोगी संस्थाहरू तथा अमेरिकामा रहेका एनआरएन मित्रहरूलाई अध्यक्ष श्रेष्ठले व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक आभार प्रकट गरेका छन्।
