न्यूयोर्क — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ऐतिहासिक र प्रेरणादायी बनेको छ।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष महेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विशेष अतिथि पूर्वअध्यक्ष एवं अधिवक्ता खगेन्द्र जीसी रहनुभयो।

एनआरएनए आइसीसी महासचिव बी.आर. लामा, सहकोषाध्यक्ष कृष्ण पोखरेल, क्षेत्रीय संयोजक दिलु पराजुली, उप–क्षेत्रीय संयोजक एन.बी. टण्डन, एनसीसी अमेरिकाका महासचिव, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ, विभिन्न राज्यका संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कलाकार तथा ३० भन्दा बढी नेपाली संस्थाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता एनआरएनए अमेरिका अध्यक्ष सुर्य लम्सालले गर्नुभयो भने सञ्चालन महासचिव यदु बञ्जारा र सचिव डाजिमा शेर्पाले गर्नु भयो। संयोजन वरिष्ठ उपाध्यक्ष नवराज सुवेदी र उपाध्यक्ष अनिता परियारले गरेका थिए।

चार वर्षपछि पहिलो पटक एनआरएनएको दुबै पक्षका प्रतिनिधिहरू एउटै मञ्चमा बसेको यो कार्यक्रमलाई ‘एकताको ऐतिहासिक सुरुवात’ को रूपमा हेरिएको छ।
अध्यक्ष श्रेष्ठले “समृद्ध नेपाल, एकढिक्का एनआरएनए” अभियानलाई अझ सशक्त बनाउँदै लगानीमैत्री वातावरण निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी सबैको साझा प्रयासले मात्रै एनआरएनएलाई फेरि महान बनाउन सक्छ। अब शब्द होइन, कर्मले बोल्नुपर्छ।”
कार्यक्रमले एनआरएनएको एकतालाई सुदृढ गर्ने मात्र नभई विश्वभर फैलिएको नेपाली डायस्पोरामा नयाँ ऊर्जा र उत्साह थपेको सहभागिहरूले बताएका छन्।