इस्लामाबाद — पाकिस्तान सरकारले हालका अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारको लागि औपचारिक सिफारिस गर्ने निर्णय गरेको छ। भारत–पाकिस्तानबीच हालै उत्पन्न भएको गम्भीर संकटमा राष्ट्रपति ट्रम्पले देखाएको निर्णायक कूटनीतिक नेतृत्व र शान्ति स्थापना प्रयासलाई उच्च सम्मान दिँदै पाकिस्तानले यो सिफारिस गरेको हो।

पाकिस्तानी सरकारका अनुसार भारतले पाकिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताको गम्भीर उल्लंघन गर्दै एकतर्फी र अवैध आक्रमण सुरु गरेको थियो, जसमा महिलासहित बालबालिका र वृद्धहरूको दु:खद मृत्यु भएको थियो। त्यसको जवाफमा पाकिस्तानले ‘अपरेसन बुन्यानुम मर्सूस’ सञ्चालन गरी सन्तुलित र सटीक सैन्य प्रतिक्रिया दिएको थियो, जसको उद्देश्य मात्र आत्मरक्षा र निवारक शक्ति पुनःस्थापना गर्नु रहेको दाबी गरिएको छ।
यस्तो संवेदनशील र तनावग्रस्त अवस्थामा राष्ट्रपति ट्रम्पले इस्लामाबाद र नयाँदिल्लीसँग समयमै कूटनीतिक वार्ता गरी दुवै मुलुकबीच युद्धको सम्भावना अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनको सक्रिय मध्यस्थता र दूरदर्शी कदमले आणविक द्वन्द्वको सम्भावना समाप्त गरी करोडौं जनताको जीवन सुरक्षीत बनायो।
पाकिस्तानले राष्ट्रपति ट्रम्पद्वारा जम्मु–कश्मीर समस्या समाधानको लागि दिइएको वास्तविक चासो र पहललाई पनि सकारात्मक रूपमा लिएको छ। पाकिस्तानको भनाइमा, यो समस्या संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का प्रस्तावअनुसार हल नगरिएसम्म दक्षिण एशियामा दिगो शान्ति सम्भव छैन।
पाकिस्तान सरकारले ट्रम्पको २०२५ को भारत–पाकिस्तान संकटमा देखिएको प्रभावकारी शान्ति प्रयासलाई उनको “व्यावहारिक कूटनीति र शान्ति स्थापना” को निरन्तरता मानेको छ। साथै, मध्यपूर्वमा जारी मानवीय संकटहरू—विशेषतः गाजामा भइरहेको नरसंहार र इरानसँग बढ्दो तनाव—मद्दत गर्ने ट्रम्पको सम्भावित भूमिकामा पनि पाकिस्तानले विश्वास व्यक्त गरेको छ।