काठमाडौं, जेठ १९ – हालै नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त डा. विश्व पौडेलसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समिति सदस्य विनोद कुँवरले गभर्नर कार्यालयमा भेटघाट गर्नुभएको छ।

शिष्टाचार भ्रमणको रूपमा सम्पन्न उक्त भेटमा विनोद कुँवरले एनआरएनएको तर्फबाट डा. पौडेललाई गभर्नरमा नियुक्ति भएकोमा हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना प्रकट गर्नुभयो।

भेटका क्रममा गभर्नर डा. पौडेलले गैरआवासीय नेपालीहरूले मुलुकको समृद्धिमा पुर्याउन सक्ने योगदानको विषयमा विशेष जोड दिँदै, “वैदेशिक लगानी तथा प्रविधि भित्र्याउन गैरआवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ” भन्ने धारणा व्यक्त गर्नुभएको कुँवरले जानकारी दिनुभएको छ।

डा. पौडेलले वैदेशिक लगानीको प्रक्रिया सहज बनाउने दिशामा नेपाल राष्ट्र बैंक सकारात्मक रहेको उल्लेख गर्दै, “गैरआवासीय नेपालीहरूसँग सहकार्यमा बैंक सधैं सकारात्मक र तत्पर रहनेछ” भन्ने स्पष्ट प्रतिबद्धता समेत जनाउनुभएको थियो।
भेटमा डेपुटी गभर्नर निलम ढुङ्गाना पनि सहभागी हुनुहुन्थ्यो।
विनोद कुँवरले उक्त अवसरमा गभर्नर र डेपुटी गभर्नरप्रति कृतज्ञता व्यक्त गर्दै, “उहाँहरूद्वारा देखाइएको अमूल्य समय, सकारात्मक दृष्टिकोण र सहकार्यप्रतिको प्रतिबद्धता प्रशंसनीय छ” भनी धन्यवाद ज्ञापन गर्नुभएको छ।

एनआरएनए स्थापना कालदेखि नै संलग्न रही सन् २०१७–२०१९ को कार्यकालमा अध्यक्षको भूमिकामा रहनुभएका कुँवर हाल उच्चस्तरीय सल्लाहकार समिति सदस्यका रूपमा एनआरएनएमा क्रियाशील हुनुहुन्छ।
गैरआवासीय नेपाली समुदाय र नेपाल सरकारका बीचको सम्बन्ध अझै प्रगाढ बनाउने दिशामा यस्ता भेटघाटहरू प्रेरणादायी हुने विश्वास गरिएको छ।