काठमाडौं, जेठ १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा महेश कुमार श्रेष्ठको ऐतिहासिक आगमनसँगै सिङ्गो एनआरएनएमा एक नयाँ ऊर्जा, उत्साह र विश्वासको वातावरण फैलिएको छ। श्रेष्ठ अध्यक्षको कुर्सीमा बसेसँगै एनआरएनएभित्रको गतिशीलता, सदस्यता वृद्धि र अन्तर्राष्ट्रिय सक्रियताले नयाँ उचाइ लिएको छ। हायात होटलमा सम्पन्न एकता महाधिवेशन त्यसैको मूर्त प्रमाण हो, जसले विश्वभर छरिएर रहेका नेपालीहरूलाई “एनआरएनए हाम्रो अभिभावक हो” भन्ने अनुभूति दिलाउन सफल भएको छ।
नेतृत्वमा नयां युगको सुरुवात
महेश श्रेष्ठको नेतृत्वमा सुरु भएको एनआरएनएको नयाँ युगले संगठित, समावेशी र सशक्त एनआरएनएको निर्माणतर्फ महत्वपूर्ण पाइला चालेको छ। उनका साथमा संस्थाका पूर्व अध्यक्ष शेष घले, भवन भट्ट र विनोद कुँवर, साथै अनुभवी नेताहरू आरके शर्मा, रवीना थापा जस्ता अन्तर्राष्ट्रियस्तरमा बलिया व्यक्तित्वहरूको सहयोगले संगठनलाई अझ गम्भीर, गतिशील र परिणाममुखी बनाउँदैछ।
श्रेष्ठले स्पष्ट रूपमा भन्नुभएको छ — “मेरो उद्देश्य हो, छरिएको एनआरएनएलाई एकताको डोरीले बाँध्ने, कमजोर संरचनालाई बलियो बनाउने, र विश्वभर रहेका नेपालीलाई नेपालको समृद्धिमा प्रत्यक्ष सहभागी गराउने।”
नागरिकता मुद्दा : अब व्यवहारिक कार्यान्वयनतिर
एनआरएनएको लामो समयदेखि उठाउँदै आएको विषय हो — गैरआवासीय नेपाली नागरिकता। महेश श्रेष्ठले यस मुद्दालाई केवल ‘समानता’ वा ‘सम्मान’ को रूपमा मात्र होइन, व्यवसायिक र कानुनी अधिकारको ग्यारेन्टी को रूपमा अघि सारेका छन्।
उहाँको भनाइमा:
“हामीलाई नागरिकता दिनु मात्र होइन, त्यो नागरिकता घरजग्गा खरिद, व्यवसाय दर्ता, लगानी सुरक्षण, तथा देशको नीति निर्माणमा सहभागी हुने हक दिनेसम्म पुग्नुपर्छ। होइन भने त्यो नागरिकता कागजी हुनेछ।”
श्रेष्ठको यो दृष्टिकोणले एनआरएनहरूलाई देशप्रति थप जोडिने वातावरण बनाउँदै लगेको छ। अहिले हजारौं एनआरएनहरूले यो विषयलाई लिएर सरकारसँग संवाद र दबाबको तयारी पनि थालेका छन्।
एकता महाधिवेशन : इतिहासको मोड
हायात होटलमा सम्पन्न ‘एकता महाधिवेशन’ एनआरएनए इतिहासमा एउटा कोसेढुङ्गा बनेको छ। वर्षौंसम्म संगठनभित्र देखिएको गुटबन्दी, अविश्वास र अन्तरद्वन्द्वलाई अन्त्य गर्दै महेश श्रेष्ठले सबैलाई एउटै छातामुनि ल्याउने प्रयास गरेका छन्।
उक्त महाधिवेशनमा करिब ८० देशका प्रतिनिधिहरू सहभागी थिए। महेश श्रेष्ठले त्यहाँ स्पष्ट रूपमा प्रतिबद्धता जनाएका थिए:
“अब एनआरएनए कुनै व्यक्ति, गुट वा संस्थाको निजी जागिर होइन। यो सबै गैरआवासीय नेपालीहरूको साझा मञ्च हो।”
लगानी : अब भाषण होइन, कार्यान्वयन
श्रेष्ठ नेतृत्वको अर्को मूल एजेन्डा हो — लगानीलाई व्यवहारमा उतार्ने। विगतमा बारम्बार लगानी सम्मेलन, मञ्च, कार्यपत्रहरु त भए तर वास्तविक लगानी नगन्य। तर अब महेश श्रेष्ठको कार्यशैली फरक देखिन्छ।
उनले आफ्नो कार्यकालभित्रै १० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी नेपालमा भित्र्याउने ठोस योजना बनाएका छन्। विभिन्न देशमा रहेका एनआरएन उद्यमीहरूसँग सहकार्य गर्दै, होटल, जलविद्युत्, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी भित्र्याउने तयारी तीव्र गतिमा भइरहेको छ।
सदस्यता बृद्धि : एनआरएनएमा फर्कँदैछ जनविश्वास
श्रेष्ठको नेतृत्वमा एनआरएनए सदस्यता पुनः उकालो लाग्न थालेको छ। पछिल्ला केही महिनामा हजारौं नयाँ सदस्यहरू संस्थामा आवद्ध भएका छन्। उनीहरूले एनआरएनएको नेतृत्वमा फेरि एकपटक भरोसा गर्न थालेका छन्।
अमेरिका, युके, जापान, कोरिया, अष्ट्रेलिया, खाडी मुलुकहरू, युरोप, अफ्रिकासम्म रहेका नेपालीहरू अहिले एनआरएनएको कार्यक्रमहरूमा उत्साहपूर्वक संलग्न हुन थालेका छन्।
महेश श्रेष्ठ : अब मिशनमा
महेश श्रेष्ठ अहिले केवल एक अध्यक्ष होइनन्, एनआरएनएलाई नवउर्जासहित अगाडि लाने अभियन्ता बनेका छन्। उहाँको २४ घण्टा अभियान, प्रत्यक्ष संवाद, पारदर्शिता र कार्यशैलीले संस्थामा नयाँ संस्कार भित्र्याएको छ।
उहाँको कार्यशैली कतिपयले ‘एनआरएनएको सर्जिकल सुधार’ भनेर समेत व्याख्या गर्न थालेका छन्। देश र प्रवासमा उहाँलाई साथ दिने लहर फैलिँदो छ।
निष्कर्ष
एनआरएनएको इतिहासमा यो चरण ‘एकताको पुनरागमन’ को युग हो। महेश श्रेष्ठले नेतृत्व सम्हालेपछि संगठनले केवल गुटविहीन दिशा मात्र पाएको छैन, नयाँ ऊर्जा, विश्वसनीयता र कार्यदक्षता पनि पाएको छ। गैरआवासीय नेपालीहरूको साझा घर पुनः विश्वासको केन्द्र बन्दैछ।
अब सबैको नजर महेश श्रेष्ठ र उहाँको ‘मिशन एनआरएनए पुनर्जागरण’ मा केन्द्रित छ। यही गतिमा उनले संगठनलाई अघि बढाए, एनआरएनएको भविष्य उज्यालो देखिन्छ — नेपाल र नेपालीको हितमा।