टोकियो, जापान —“फर द वेलफेयर एण्ड एजुकेशन अफ द एशियन पिपुल” द्वारा आयोजित विशेष अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन जापान आउनु भएकी नेपाल सरकारकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई जापानको प्रवेशद्वार नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो।

नेपाली समुदाय, सामाजिक अभियन्ता, बुद्धिजीवी, NRNA अगुवा र जापानवासी नेपालीहरुको ठूलो उपस्थितिमा विमानस्थल गुञ्जायमान बन्यो। डा. देउवाको उपस्थिति केवल एक मन्त्रीको आगमन थिएन, यो नेपाली डायस्पोराको आत्मविश्वास, सम्बन्ध र सहभागिताको पुनः पुष्टि थियो।
NRNA पुनः एकताको यात्रामा, नेतृत्वमा नयाँ भरोसा
एनआरएनए इतिहासको एउटा त्यस्तो मोडबाट गुज्रिरहेको छ, जहाँ २०२१–२३ को कार्यकाल विवाद, मतभेद, द्वन्द्व, नेतृत्वको अस्थिरता र चरम नैराश्यताले भरिएको थियो। कहिले एक, कहिले दुई, तिन–चार गुटहरूको भिडन्त; हिरो बनेको भोलिपल्टै जिरो हुने अवस्था; अनि कतिपयको आत्मकेन्द्रित शैलीले संस्था चिराचिरा भएको अनुभूति गरिरहेको थियो।

तर, आशाको किरण फेरि उब्जिएको छ।
२०८१ वैशाखमा सम्पन्न ऐतिहासिक “एकताको महाधिवेशन” बाट सर्बसम्मत रुपमा चयन हुनुभएका ICC अध्यक्ष महेश श्रेष्ठ र एशिया प्यासिफिक संयोजक डा. बलराम श्रेष्ठ जापान आउँदा, विमानस्थलमै एकताको सन्देश झल्किएको देखियो।
नेतृत्व परिवर्तन होइन, सोच परिवर्तनको समय
जसरी एक विघटनको भुमरीबाट नयाँ संरचना बन्छ, एनआरएनए पनि त्यसैगरि फेरि सबल, सबलीकृत र समन्वयात्मक बन्दैछ।

जापानको सामाजिक अभियन्ता, महिला नेतृ तथा वरिष्ठ समाजसेवी अनिता गुरुङले लेखेझैं –
“संस्था सबैको अपनत्व हुने गरी एकताको सूत्रमा ल्याउन सकिन्छ भन्ने आशा र भरोसाको साथ, तपाईको काँधमा जिम्मेवारी आएको छ। सफलताको हार्दिक शुभकामना।”
उक्त सन्देश केवल शुभकामना मात्र होइन, यो सम्पूर्ण डायस्पोराको आवाज हो – NRNA अब पुनः सबैको बन्नेछ, गुट होइन, जुटको पर्याय बन्नेछ।
ARZU र MAHESH: राजनय र प्रवासीको मिलन बिन्दु
जसरी डा. आरजु राणा देउवाको आगमनले जापानको राजनयिक सम्बन्धमा ऊर्जा थपेको छ, त्यस्तै महेश श्रेष्ठको अध्यक्षताले प्रवासी नेपालीबीचको एकता, संस्थागत स्थायित्व र अग्रगामी सोचमा भरोसा दिलाएको छ।
यस अवसरमा जापानवासी अग्रज, नवप्रवेशी र संस्थागत प्रतिनिधिहरूले “NRNA Now Rebooting” भन्ने भावनालाई आत्मसात गर्दै ऐक्यबद्धताको सन्देश प्रवाह गरे।
अन्त्यमा – अब नारा होइन, कार्यदिशा चाहिन्छ
NRNA को आगामी दिनहरू भाषण, ताली र फोटोभन्दा अघि बढ्नुपर्ने बेला हो। समावेशिता, पारदर्शिता, जवाफदेहिता र कार्यदक्षता को भरपर्दो उदाहरण बन्नु पर्छ – जुन अपेक्षा महेश श्रेष्ठ र डा. बलराम श्रेष्ठ नेतृत्वमाथि सम्पूर्ण प्रवासी नेपाली समुदायले राखेका छन्।