काठमाडौं — राप्रपाका नेता तथा प्रतिनिधिसभाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणप्रति कडा टिप्पणी गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “नेपालमा अब लुटतन्त्रको अन्त्य हुँदैछ, त्यसैले आफ्ना लुटतन्त्रका मुख्य मालिकहरूलाई भेट्न भट्टराई भारत गएका हुन्।”
शाहीले बाबुराम भट्टराईमाथि इतिहासमा राष्ट्रघात गरेको आरोपसमेत लगाएका छन्। उनले स्मरण गराए, “२०३१ सालमा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि विश्वमा प्रस्ताव राख्दा भारत र रुसले मात्र अस्वीकार गरेका थिए। भारतले अस्वीकार गर्नुको कारण बनेका थिए त्यही बेला जेएनयूमा अध्ययनरत बाबुराम भट्टराई, जसले राजा वीरेन्द्रविरुद्ध कालो झण्डा प्रदर्शन गरेका थिए।”
ज्ञानेन्द्र शाहीका अनुसार, बाबुराम भट्टराईको उक्त गतिविधिका कारण पञ्चायतविरोधी दलहरूमा समेत शंका उत्पन्न भई विरोधको माहोल बन्यो र अन्ततः अन्तर्राष्ट्रिय स्तरमा शान्ति क्षेत्र प्रस्ताव असफल भयो। “यदि त्यो प्रस्ताव पास भएको भए नेपाल आज संसारकै शान्त, लगानीमैत्री मुलुक बन्न सक्थ्यो,” शाहीले उल्लेख गरेका छन्।
उनले बाबुराम भट्टराईमाथि माओवादी युद्धका नाममा १७ हजार नेपालीको मृत्युको मुख्य जिम्मेवार रहेको पनि बताएका छन्।ज्ञानेन्द्र शाहीले आग्रह गरेका छन्, “अब समय आएको छ, राष्ट्रघात गर्ने इतिहास बोकेकाहरूलाई जनताले चिन्ने र सत्यको पक्षमा उभिने।”