एचबी ताम्राकार, १५ वैशाख २०८२ — विश्वभर छरिएका नेपालीहरूको साझा घर गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिखेर एक ऐतिहासिक मोडमा पुगेको छ। एनआरएनए एकता महाधिवेशन नजिकिँदै गर्दा महेश कुमार श्रेष्ठको भावुक र दूरदर्शी अभिव्यक्ति सम्पूर्ण एनआरएन परिवारलाई नयाँ ऊर्जा र आशाको सन्देश बनि आएको छ।
श्रेष्ठले स्पष्ट रूपमा भनेका छन्, “हामीबीच सहमति र एकताको विशाल ढोका अझै खुला छ। सहमतिको लागि ठूलो मन बनाउन सके सबै समस्याको समाधान हुन्छ।” समाज टाइम्ससँगको विशेष कुराकानीमा उनले अहिलेको संवेदनशील परिस्थितिमा कुनै पनि हालतमा एनआरएन परिवार फुट्न नदिने दृढ संकल्प व्यक्त गरेका छन्।
एनआरएनएको एकता महाधिवेशन जेठ ३-५ गते काठमाडौंमा आयोजना हुँदैछ। महेश श्रेष्ठले अदालतले कुनै अन्यथा आदेश नगरेको अवस्थामा महाधिवेशन हुने पक्का भएको बताएका छन्। उनी भन्छन्, “अहिलेको अवस्थामा हामी बीचमा सहमतिको विकल्प नै छैन।”
श्रेष्ठले आत्मबलका साथ भने, “म स्वाभाविक रूपमा अध्यक्ष पदका लागि उम्मेदवार हुँ, तर सहमति र एकताको नाममा म सधैं पछि हट्न तयार छु। यदि नयाँ नेतृत्व आउनु पर्ने हो भने पनि म स्वागत गर्न तयार छु।”
उनले महाधिवेशन रोक्न नहुने, बरु महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर अझ बलियो एकता निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। “अब महाधिवेशन सरुँ भन्ने कुरा उपयुक्त होइन। प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्, तयारी पूरा भइसकेको छ। अब नयाँ नेतृत्व चुनेर एकताको रथ अघि बढाउनु पर्छ,” श्रेष्ठको प्रस्ट भनाइ थियो।
अध्यक्ष पदका लागि महेश श्रेष्ठसँगै अर्का शशक्त उम्मेदवारहरु आशोक शर्मा र कृष्ण पौडेल पनि प्रतिस्पर्धामा उत्रिएका छन्। तर महेश श्रेष्ठको दूरदर्शिता, एकताप्रतिको अपार समर्पण र विशाल मनले उनलाई अन्य उम्मेदवारभन्दा अलग बनाएको छ।
श्रेष्ठको यो सहमतिको पहलले एनआरएनए इतिहासमा एकता, समझदारी र नयाँ युगको सूत्रपात गर्ने आशा गरिएको छ। विश्वभरिका लाखौं नेपालीहरूले श्रेष्ठलाई सहमतिको नायकको रूपमा हेर्न थालेका छन्।