काठमाडौं, वैशाख १३ –नेपालको राजनीतिक वृत्तमा हलचल मच्चाउने गरी डा. सिके राउतले नयाँ शक्तिशाली पार्टीको उदयको संकेत दिएका छन्। जनमत पार्टीका अध्यक्ष डा. राउतले सामाजिक सञ्जालमार्फत जनताको पक्षमा काम गर्ने नयाँ शक्ति उदाउन लागेको बताएका छन्, जसले देशको राजनीतिमा दूरगामी प्रभाव पार्ने बताएका छन्।
उनले उल्लेख गरेका छन् कि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको अभूतपूर्व एकता तथा मिलन नेपालको राजनीतिक इतिहासमै उल्लेखनीय बन्नेछ। यद्यपि, यो प्रयासलाई असफल बनाउन विभिन्न तत्त्वहरूले विगत ७–८ महिनादेखि अनेकौँ षड्यन्त्र र अवरोध सिर्जना गर्दै आएको आरोप उनले लगाएका छन्।
डा. राउतका अनुसार पार्टीमा झगडा भड्काउने प्रयासदेखि लिएर नेताहरूमाथि लोभ लालच देखाएर फसाउने, चरित्र हत्या गर्ने, मिडिया मार्फत बदनाम गराउने, जाति र धर्मका आधारमा आक्रमण गर्ने, पार्टी फुटाउने र सांसदहरू खरीद गर्ने प्रयाससमेत भइरहेका छन्। उनले आफू र रेशम चौधरीलाई ज्यान मार्ने तथा पुनः पक्राउ गराउने धम्कीसमेत आएको खुलासा गरेका छन्।
तर यस्ता बाधा र अवरोधबीच पनि उनी आत्तिएका छैनन्। डा. राउतले आफ्ना समर्थकहरूलाई समेत धैर्य रहन आग्रह गर्दै, “जनताको भावना र आकांक्षा एक भएकोले, हामी एकताको दिशामा अघि बढ्नेछौं। एकता हुन्छ नै,” भन्ने स्पष्ट सन्देश दिएका छन्।
उनको यो भनाइसँगै नेपाली राजनीतिमा नयाँ समीकरण र शक्तिको उदयको चर्चा तिव्र रुपमा फैलिएको छ।