काठमाडौं, बैशाख ७ गते – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघका विभिन्न पदाधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूलाई भेट गरी संघसँग सम्बन्धित समसामयिक विषयमा जानकारी गराएको छ।

भेटवार्तामा संघका हालका गतिविधि, चुनौतिहरू, प्रवासी नेपालीहरूको सरोकारका विषय र तिनको समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। एनआरएनएले नेपाल सरकारसँग सहकार्य गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको हकहितका लागि खेलेको भूमिकाबारे सभामुखज्यूलाई जानकारी गराइएको थियो।
अध्यक्ष डा. बद्री केसीले प्रवासी नेपालीहरूको समस्यामाथि गम्भीर ध्यान दिनु पर्ने आवश्यकता औँल्याउँदै, “विदेशमा रहेका नेपालीहरू नेपालको विकास र समृद्धिमा ठूलो सम्भावना बोकेको समूह हुन्। उनीहरूको लगानी, ज्ञान र अनुभवलाई सही दिशा दिने नीति आवश्यक छ।” भन्ने धारणा व्यक्त गरे।
सभामुख देवराज घिमिरेज्यूले एनआरएनएको योगदानको प्रशंसा गर्दै संघलाई आवश्यक सहयोगका लागि संसद् सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो।
भेटमा महिला सचिव राधिका गुरूडः (टिका) लगायत एनआरएनए आईसीसी २०२३–२०२५ कार्यकालका पदाधिकारीहरू सहभागी थिए।
यस प्रतिनिधिमण्डलले संसद्को ध्यान आकर्षण गराउँदै, प्रवासी नेपालीहरूको नागरिकता, लगानी सुरक्षासम्बन्धी नीति, मातृभूमिसँग सम्बन्ध थप बलियो बनाउने कार्यक्रमहरूको आवश्यकता लगायतका बुँदाहरूमा गम्भीर चासो व्यक्त गर्यो।