काठमाडौं ।हालै Gen Z आन्दोलनका क्रममा ध्वस्त भएको बग्गी खाना प्रहरी कार्यालय तथा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी अगाडि सरको छ ।

एनआरएनए केन्द्रीय उपाध्यक्ष तथा डिजास्टर कमिटीका संयोजक मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ को नेतृत्वमा बनेको टिमले आजै नेपाल प्रहरी संगठनका एआईजीपी दानबहादुर कार्की, डिआईजी ओम राना, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी, डिएसपी अमरेन्द्रप्रसाद सिंहलगायत उच्च प्रहरी अधिकारीसँग विशेष भेटघाट तथा छलफल सम्पन्न गरेको हो ।

करोड लागतमा अत्याधुनिक कन्ट्रोल रुम(OPS Room)
७७ वटै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरमै पुनर्निर्माण गरिने भएको छ । यसका लागि करिब एक करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसको सम्पूर्ण जिम्मेवारी एनआरएनए आईसीसीले लिन लागेको हो ।

एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ को नेतृत्वमा बसेको OB मिटिङ (सचिवालय) को निर्णयअनुसार यो परियोजना अघि बढाइएको हो । सोही छलफलअनुसार उपाध्यक्ष मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ लाई यो अभियान नेतृत्व गर्न खटाइएको हो ।
टिममा सक्रिय योगदान
यस अभियानलाई सफल बनाउन एनआरएनए का विभिन्न कमिटी र पदाधिकारीहरूको सक्रिय भूमिका रहनेछ ।
• केन्द्रीय महिला संयोजक तथा डिजास्टर सह–संयोजक : रश्मि थापा
• तत्कालीन अध्यक्ष : विनोद कुँवर
• युवा संयोजक तथा डिजास्टर सदस्य : भीमसेन थापा
• सदस्य सचिव : धर्मराज गिरी
• सल्लाहकार : उमेश पुडासैनी, दिनेश राई
• एनसीसी कतारका पूर्व उपाध्यक्ष : उत्तम गुरुङ
• युवा उद्यमी कमिटी अध्यक्ष तथा समाजसेवी : नारायण भण्डारी
• सदस्य : प्रदीप खनाल, मनिष उप्रेती, निराजन खत्री

प्रहरी नेतृत्वसँग प्रत्यक्ष समन्वय
नेपाल प्रहरी संगठनका आईजीपी चन्द्रकुबेर खापुङ को निर्देशनअनुसार एआईजीपी दान बहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकारीसँग प्रत्यक्ष छलफल भएको हो ।

डिजास्टर कमिटीका सल्लाहकार दिनेश राई को पहलमा यो विषय उठाइएको थियो । प्रहरी संगठनबाट तत्कालै सुझाव पाएपछि राईले यो कुरा उपाध्यक्ष महेश कुमार श्रेष्ठसम्म पुर्याए । त्यसपछि मनोज श्रेष्ठ ‘गोर्खाली’ ले अध्यक्ष महेश कुमार श्रेष्ठसँग औपचारिक रूपमा राखेपछि परियोजना अन्तिम चरणमा पुगेको हो ।
यसरी, बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन अझै प्रभावकारी, आधुनिक र वैज्ञानिक हुने अपेक्षा गरिएको छ।