क्वालालम्पुर, ३१ अगष्ट २०२५ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) मलेसियाको ९औं महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनबाट इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचित अध्यक्ष बनेका छन् ।

नव निर्वाचित अध्यक्ष लिम्बु नेतृत्वको कार्यसमिति २०२५–२०२७ कार्यकालका लागि निर्विरोध चयन भएको हो । अध्यक्ष लिम्बु सहित सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य र अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यहरुप्रति हार्दिक बधाई व्यक्त गर्दै NRNA ICC का अध्यक्ष महेश कुमार श्रेष्ठले सफल कार्यकालको शुभकामना दिएका छन् ।

श्रेष्ठले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “मलेसियाको ९औं महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष इन्द्र नारायण लिम्बु लगायत सम्पूर्ण पदाधिकारी, सदस्य तथा ICC सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
गैरआवासीय नेपाली संघ मलेसिया, त्यहाँ रहेका लाखौं नेपाली कामदार र समुदायलाई समेट्ने एक महत्वपूर्ण संरचना हो । यसले प्रवासी नेपालीको हकहित, आपतकालीन सहयोग, सांस्कृतिक पहिचानको संरक्षण र नेपाल–मलेसिया सम्बन्ध सुदृढीकरणमा निरन्तर भूमिका खेलेको छ ।
विशेषगरी आगामी कार्यकालमा अध्यक्ष लिम्बुको नेतृत्वमा मलेसियामा रहेका नेपाली समुदायलाई अझ प्रभावकारी ढंगले एकीकृत गर्दै, सामाजिक–आर्थिक तथा कानुनी सहयोगलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ ।