काठमाडौं । जीवनमा केही क्षण यस्ता हुन्छन्, जसले सारा दुःख, पीडा र प्रतीक्षालाई एकैपटक बिर्साइदिन्छ । त्यस्तै अविस्मरणीय र भावुक क्षण समाजसेवी तथा नेपाल–चिन विज्ञ दिनेश खनाल र उनकी धर्मपत्नी गीता खनालको जीवनमा आएको छ । १५ वर्षको प्रतीक्षा पछि उनीहरू दम्पती आमा–बुबा बनेका छन्, त्यो पनि एकैपटक जुम्ल्याहा छोरीको रूपमा ।

यो समाचार सुन्नासाथ परिवार, आफन्त, साथीभाइ मात्र नभई देशभित्र र बाहिर रहेका शुभचिन्तकहरू समेत खुशीले हर्ष उल्हास भएका छन् । १५ वर्षसम्म पर्खाइ र संघर्षको यात्रा व्यतित गरेका खनाल दम्पतीको मुहारमा आएको मुस्कानले हजारौंलाई आशा, विश्वास र धैर्यको पाठ सिकाएको छ ।

खनाल दम्पतीलाई प्राप्त भएको यो वरदानप्रति देशका बौद्धिक, साहित्यिक, समाजसेवी तथा राजनीतिक उच्चस्तरका व्यक्तित्वहरूले हार्दिक बधाई र शुभकामना दिएका छन् । साथै स्वतन्त्र युवाहरूका अगुवा तथा चर्चित व्यक्तित्वहरूले समेत “यो खुशी हाम्रो पनि हो” भन्दै सामाजिक सञ्जालमार्फत भावुक सन्देशहरू व्यक्त गरेका छन् ।

नवजात शिशुको न्वारानको दिन दिनेश खनालले आफ्ना दुई छोरीलाई काखमा समातेर “हामी दुई अनि हाम्रा दुई” भनेर सामाजिक सञ्जालमा लेखेका शब्दहरूले लाखौं हृदयलाई छोएको थियो । त्यो पोस्टमा आएको हजारौंको लाइक र बधाईका सन्देशहरूले यस खुशिको क्षणलाई अझै विशेष र ऐतिहासिक बनाइदिएको छ ।

१५ वर्षको लामो पर्खाइमा नजानिँदो पीडा र आँसु लुकेको थियो, तर अन्ततः भगवान्ले दिएको यो अद्भुत उपहारले खनाल दम्पतीलाई मात्र होइन, उनीहरूलाई चिनेका सम्पूर्णलाई अभूतपूर्व खुसीमा डुबाइदिएको छ । यो केवल एउटा व्यक्तिगत उपलब्धि मात्र नभई, धैर्य, विश्वास र दृढताको प्रतिफल हो भन्ने सन्देश पनि यो समाजलाई दिएको छ ।

आज दिनेश खनाल र गीता खनाल आफ्ना दुई नानीसँग नयाँ जीवन यात्रा सुरु गर्दैछन् । परिवार र समाजसँग खुसी बाँड्दै गर्दा उनीहरूको मुहारमा झल्किएको आँसु मिसिएको मुस्कान स्वयंमा जीवनको सबैभन्दा ठूलो प्रेरणा बनेको छ ।

यो कथा एउटा परिवारको मात्र होइन, सन्तानको पर्खाइमा रहेका हजारौं दम्पतीहरूको पनि कथा हो— जसले विश्वास गर्छन्, धैर्य गर्छन् र अन्ततः जीवनमा अद्भुत वरदान पाउँछन् ।



