थाइल्याण्ड/बैंकक – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) थाइल्याण्डको ११औं राष्ट्रिय अधिवेशन आज इतिहास रच्दै भव्यता र गौरवसहित सम्पन्न भएको छ। अधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि श्री सञ्जय ढकालको सशक्त नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्णयमार्फत गठन गर्दै नयाँ युगको प्रारम्भ गरेको छ।
नेपालप्रेम, संगठनप्रतिको समर्पण र प्रवासी नेपालीहरूको हितमा देखिएको एकता–उत्साहले यस अधिवेशनलाई थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायको साझा उत्सवमा परिणत गर्यो। अधिवेशनमा सहभागीहरूमध्ये धेरैले यसलाई “एनआरएनए थाइल्याण्डको स्वर्णिम क्षण” भनेर प्रशंसा गरेका छन्।
नवनिर्वाचित अध्यक्ष सञ्जय ढकालले आफ्नो प्रतिबद्धता प्रष्ट पार्दै भने: “हामी प्रवासी नेपालीहरूको अधिकार, अवसर र पहिचानको रक्षा गर्दै, थाइल्याण्डमा मात्र होइन, सम्पूर्ण विश्वमा नेपालको नाम उजागर गर्ने यात्रामा समर्पित हुनेछौं।”
यसैबीच, एनआरएनए थाइल्याण्डका प्रभावशाली युवा नेता दिनेश बुढाथोकीले अधिवेशनलाई ऐतिहासिक संज्ञा दिँदै नवनिर्वाचित टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
“सञ्जय ढकालको नेतृत्वले एनआरएनए थाइल्याण्डलाई अझ ऊँचाइमा पुर्याउनेछ। यो कार्यसमिति केवल नेतृत्वकर्ताहरूको समूह होइन, यो प्रवासी नेपालीहरूको साझा सपना र गौरवको प्रतीक हो,” दिनेश बुढाथोकीले जोड दिए।
समुदायका अन्य प्रतिष्ठित व्यक्तिहरूले पनि यस अधिवेशनले ल्याएको एकता, समर्पण र जोशलाई नेपालको भविष्य निर्माणमा प्रवासी नेपालीहरूको महत्वपूर्ण योगदानको प्रारम्भिक ध्वनि भनेर व्याख्या गरेका छन्।
अधिवेशन सम्पन्न भएपछि थाइल्याण्डभरिका नेपालीहरूले सामाजिक सञ्जालमार्फत बधाई र शुभकामनाको वर्षा गरेका छन्।