काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन (२०२५–२०२७ कार्यकाल) सम्पन्न भई सतेन्द्र शाह अध्यक्ष पदमा निर्वाचित भएका छन्। सोमवार घोषणा गरिएको नतिजाअनुसार शाहले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
शाहले कुल ३,२२८ मत प्राप्त गरी अध्यक्ष बनेका छन्। अन्य उम्मेदवारहरूमध्ये भानु खरेलले २,५०६ मतसहित दोस्रो स्थान, रामहरि अधिकारीले २,०६३ मतसहित तेस्रो स्थान र राज आचार्यले १०५ मत पाएर चौथो स्थान हासिल गरेका छन्। यस निर्वाचनमा ४०१ मत तटस्थ रह्यो।
एनआरएनए अमेरिकाको यस ऐतिहासिक निर्वाचनमा १३,१७५ सदस्य मतदाता मध्ये ८,३०३ जनाले अनलाइन प्रणालीमार्फत मतदान गरेका थिए। यो कुल मतदाताको ६३.०२ प्रतिशत सहभागिता हो।
त्रिपक्षीय प्रतिद्वन्द्विता, शाहको समूहको स्पष्ट बहुमत
निर्वाचनमा शाह, खरेल र अधिकारीले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका थिए भने आचार्य स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका थिए। शाहको समूहले चारमध्ये दुई उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र बहुमत बोर्ड अफ डाइरेक्टरमा विजयी भई स्पष्ट बहुमत कायम गरेको छ।
वरिष्ठ उपाध्यक्षमा सन्तोष पाहारी विजयी
निर्वाचन समितिका प्रमुख टुकप्रसाद रेग्मीले सार्वजनिक गरेको नतिजाअनुसार सन्तोष पाहारी ३,३८८ मतसहित वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।
अन्य विजयी पदाधिकारी
- उपाध्यक्षहरू: प्रदीप चौलागाईं (२,८८२), डा. गंगाधर आचार्य (२,८५८), आंगछिरिंग शेर्पा (२,७९४), सुरेन्द्र लोडारी (२,६८८)
- महिला उपाध्यक्ष: सुनीता खत्री (३,४०३)
- युवा उपाध्यक्ष: बिजय वाईबा (२,८२३)
- महासचिव: मोहन न्यौपाने (४,०१३)
- सचिव: सूर्य बस्ताकोटी (२,६२३)
- कोषाध्यक्ष: रवीन्द्र उप्रेती (३,९४६)
- युवा संयोजक: संसार चौलागाईं (३,९७१)
- महिला संयोजक: करिना कुँवर (४,३६८)
बोर्ड अफ डाइरेक्टर
- सन्तोष लम्साल – ४,३९६
- माधव गौतम – ४,१४१
- बाबुराम काफ्ले – ३,७६१
- ध्रुब गौतम – ३,७२१
- राजु शाह – ३,५४६
- इन्द्रकान्त चौधरी – ३,३९२
- ओम बिके – ३,३०९
- हेम ठकुल्ला – ३,२३१
नेपाली समुदायमा उत्साह
नतिजा सार्वजनिक भएसँगै प्रवासी नेपाली समुदायमा उत्साह छाएको छ। अध्यक्षमा निर्वाचित सतेन्द्र शाहले आफूलाई दिएको विश्वासको कदर गर्दै संस्थालाई अझै सबल बनाउन र प्रवासी नेपालीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैगरी अन्य विजयी पदाधिकारीहरूले समेत सामूहिक नेतृत्वमार्फत एनआरएनए अमेरिकालाई उदाहरणीय संस्था बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।