क्यालिफोर्निया — गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा कुलप्रसाद ढकाल (के. पी) निर्विरोध निर्वाचित भएका छन्। नेपाली समुदायको माया, आशीर्वाद र अटुट समर्थनको कारण आफू विजयी भएको उनले बताएका छन्।
निर्वाचन परिणामपछि उनले भावुक हुँदै सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गर्दै भने, “यो पद केवल जिम्मेवारी होइन, तपाईंहरूले देखाउनुभएको भरोसा, आशा र एकताको प्रतिबिम्ब हो।”
ढकालले अघिल्लो निर्वाचनको अनुभवलाई पनि स्मरण गरे। करिब दुई मतले हार बेहोरेको प्रसंग उल्लेख गर्दै उनले भने, “त्यो हार मेरो लागि कठिन थियो, तर त्यसैले मलाई कमजोरी बुझ्न र समुदायलाई अझ नजिकबाट चिन्ने अवसर मिल्यो। त्यही पाठ आजको जितमा परिणत भएको हो।”
उनी आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छन्। विशेषगरी, श्रीमतीको धैर्य, माया र प्रेरणाले आफूलाई हरेक चुनौती पार गर्न मद्दत गरेको उनले बताए। साथै, एक मात्र छोराको मुस्कानले आफूलाई निरन्तर ऊर्जा र आशा दिने उनले भावुक हुँदै स्मरण गरे।
ढकालले आगामी कार्यकालमा पारदर्शिता, सहभागिता र सेवाको भावना साथ एनआरएनए क्यालिफोर्नियालाई अझ सबल र समावेशी बनाउन प्रतिबद्ध रहने प्रतिज्ञा गरे। “हिजोको हारले पाठ सिकायो, आजको जितले जिम्मेवारी थप्यो, र भोलिको यात्राले हामीलाई अझ नजिक ल्याओस्,” उनले भने।
उनको निर्विरोध विजयीले क्यालिफोर्नियास्थित नेपाली समुदायमा एकताको सन्देश फैलिएको छ।