काठमाडौँ, असार २८ –गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको औपचारिक शुभारम्भ गर्नुभएको छ।
उक्त अवसरमा गृहमन्त्री लेखकले ट्राफिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कार्यमा योगदान पुर्याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले नेपाल प्रहरीको प्रविधिमैत्री कार्यप्रति प्रशंसा व्यक्त गर्दै यस प्रकारको नवीनतम प्रणालीले ट्राफिक सचेतना कक्षालाई भौतिक उपस्थितिबाट मुक्त गर्दै नागरिक एपमार्फत अनलाइनमार्गबाट नै सचेतना लिन सकिने सुविधा उपलब्ध गराएको उल्लेख गर्नुभयो।
उहाँले भने, “ट्राफिक नियम उल्लंघन गर्दा अब कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ। नागरिकको समय, श्रम र स्रोत बचत हुने यो प्रणाली प्रहरी सेवामा प्रविधिको नयाँ युगको शुरुवात हो।”
प्रविधिमा निरन्तरता र सन्तुलित प्रयोग
मन्त्री लेखकले नागरिकप्रति उत्तरदायी र विनम्र व्यवहार गर्न प्रहरीलाई आग्रह गर्दै भने, “शान्ति, सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धान जस्ता चुनौतीपूर्ण कार्य सीमित साधनमा सम्पन्न गर्दै आएको नेपाल प्रहरीको भूमिका सराहनीय छ। प्रविधिको प्रयोगमा सक्रिय प्रहरीलाई सरकारले निरन्तर साथ दिइरहेको छ।”
त्यस्तै उहाँले प्रविधिको प्रयोग गर्दा उत्पन्न हुन सक्ने जोखिम र जटिलता प्रति सचेत हुन समेत प्रहरीलाई निर्देशन दिनुभयो।
प्रविधिमैत्री सेवामा नेपाल प्रहरी अग्रसर
समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग अब अपरिहार्य बनेको भन्दै अनलाइन ट्राफिक सचेतना कक्षा यसको उदाहरण भएको उल्लेख गर्नुभयो।
उहाँले भनुभयो, “नेपाल प्रहरीले नागरिकलाई लक्षित गर्दै प्रविधिको प्रयोगलाई प्रमुख प्राथमिकतामा राखेको छ। डिजिटल प्रणालीको विकासमार्फत सेवा प्रवाहलाई अझ सहज र सुलभ बनाउँदै लैजाने प्रतिबद्धतासहित यो नयाँ अध्याय शुरू गरिएको हो।”
महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा पछिल्लो समय अपनाइएको प्रविधिले सडक दुर्घटना न्यूनीकरण, कार्यक्षमता वृद्धि र जनमैत्री सेवा प्रवाहमा ठूला उपलब्धि हासिल भएको बताउँदै अनलाइन कक्षा सेवाग्राहीमैत्री र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
सचेत र उत्तरदायी प्रयोगकर्ताको आवश्यकता
महानिरीक्षक थापाले अनलाइन कक्षाहरूमा सेवाग्राहीबाट हुने सक्ने लापरवाहीप्रति पनि चेतावनी दिँदै सचेत र उत्तरदायी व्यवहारका लागि सर्वसाधारणको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य दिनुहुँदा, ज्ञानबजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य दिनुभयो।
विशिष्ट सहभागीहरूको उपस्थिति
समारोहमा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल सहभागिता रहेको थियो।