कंचनपुर कृष्कणपुर – कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाको सत्रौँ नगरसभा सम्पन्न भएको छ। नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन्। प्रस्तुत कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधार विकाससम्बन्धी योजना समेटिएका छन्।

यस वर्ष नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नेछ। यस्तै, वार्ड नं. ५ स्थित मोहना चोकमा कोल्ड स्टोर निर्माणको योजना रहेको छ। नगरका स्थायी बासिन्दा तथा ओलम्पियन दीपक बिष्टलाई सद्भावना दूत घोषणा गरिएको छ।

लबरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने र वार्ड नं. ७ मा दक्षिण कोरियाको सहयोगमा प्रदेशस्तरीय प्राविधिक शिक्षालय स्थापना गरिने बताइएको छ। साथै, कृषि एम्बुलेन्सको व्यवस्था, ३ वटा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात, दिवा तथा रात्रीकालीन छात्रावास सञ्चालन जस्ता कार्यक्रम पनि सार्वजनिक गरिएका छन्।

१५ सैयाको नगर अस्पतालको निर्माण प्रक्रिया अघि बढाइने, दमकल खरिद गरिने, शववाहनको व्यवस्था मिलाइने र सामुदायिक विद्यालयहरूका लागि स्कुल बसको व्यवस्था गरिने योजना समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
यी सबै योजनाहरू नगर विकास र नागरिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ प्रस्तुत गरिएको जनाइएको छ।
