काठमाडौं, असार ७ — इजरायल र इरानबीच विकसित पछिल्लो युद्ध परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र स्वदेश फर्काउने उपायबारे आज परराष्ट्र मन्त्रालयमा महत्वपूर्ण अन्तरमन्त्रालयीय बैठक सम्पन्न भएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको पहलमा सम्पन्न बैठकमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा युद्धग्रस्त क्षेत्रबाट फर्कन चाहने नेपालीहरूको दर्ताका लागि परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको विशेष पोर्टलमा नाम टिपाउन अपिल गरिएको छ।
बैठकमा इजरायल र इरान दुबै मुलुकमा रहेका नेपालीको सुरक्षालाई नेपाल सरकारले युद्ध सुरुभएसँगै गम्भीरतापूर्वक हेरिरहेको उल्लेख गरिएको छ। साथै, स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गर्ने भन्ने विषयमा विस्तृत छलफल गर्दै विशेष रणनीति तय गरिएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।
यस कार्यको सहजीकरण गर्नका लागि परराष्ट्र मन्त्रालयमा चौबिसै घन्टा काम गर्ने ‘रेस्पोन्स युनिट’ गठन गर्ने निर्णय समेत गरिएको छ, जसमा श्रम, गृह र पर्यटन मन्त्रालयका अधिकारीहरू समेत समावेश हुनेछन्।
श्रम मन्त्री शरदसिंह भण्डारी, गृह तथा पर्यटन मन्त्रालयका सचिवहरू, र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले समन्वय तथा आवश्यक तयारीमा आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री देउवाले भनिन्, “नेपाली जनताको ज्यान र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। हामी युद्धको अवस्थालाई नजिकबाट मूल्याङ्कन गरिरहेका छौं र स्वदेश फर्कन चाहने नेपालीलाई सुरक्षित रूपमा ल्याउने सम्पूर्ण तयारीमा छौं।”
दर्ता गर्न चाहनेका लागि:
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टलमा गएर नाम, ठेगाना, सम्पर्क विवरण, स्थान र इच्छित उद्धारसम्बन्धी विवरण अनिवार्यरूपमा दर्ता गराउनु अनुरोध गरिएको छ।