काठमाडौं असार ०३ – समाजले महिला भनिएपछि भान्साकोठासम्म सीमित गराउने गर्छ, त्यही सन्दर्भलाई चुनौती दिँदै डा. तिलु रानाले खेलकुद, सौन्दर्य प्रतियोगिता, शिक्षाशास्त्र र उद्यमशीलता सबै क्षेत्रलाई समेटेर जीवनको नवीन उदाहरण प्रस्तुत गरेकी छन्।

कोलकातामा जन्मिएकी तिलुले सानै उमेरदेखि आत्मबलको जग बसाइन्। ११ वर्षमै खेल मैदानमा पाइला राखेकी उनले बक्सिङ हुँदै कराँतेमा आफ्नो कौशल प्रस्तुत गर्न थालिन्। सन् १९९४ देखि २०११ सम्म अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उनले नेपाललाई प्रतिनिधित्व गर्दै १२ भन्दा बढी पदक जितिन्। तीमध्ये तीनवटा सुन र एकवटा रजत पदक उनको विशेष उपलब्धि हो।

फिटनेस र कराँतेमा विद्यावारिधि (PhD) गर्ने विरल खेलाडीमध्येकी उनी, शारीरिक स्फूर्ति मात्र होइन, बौद्धिक समर्पणमा पनि उत्तिकै अब्बल छिन्। यिनले बक्सिङ, योगा, MMA, एरोबिक्स र जुम्बामा पनि विशेषज्ञता हासिल गरिन्। दुबईसम्म पुगेर अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिएकी उनले स्वदेश फर्किएर आफ्नो फिटनेस सेन्टर खोलेकी छन्।

तर उनको यात्रा सधैं सरल थिएन। विवाहपछिको पारिवारिक जिम्मेवारी, प्रसूति र शरीरमा बढ्दो तौल (१०४ के.जी. सम्म) जस्ता चुनौतीहरूसँग उनले जुध्दै, शारीरिक रूपान्तरणमार्फत पुनः आत्मविश्वास प्राप्त गरिन्। प्राकृतिक व्यायाम र आहार सन्तुलनमार्फत ५३ के.जी. सम्म ल्याएर फेरि आफ्नो जीवनलाई नयाँ दिशा दिइन्।

सन् २०२३ मा उनले ‘मिस एण्ड मिसेस युनिभर्सल’ प्रतियोगितामा दोस्रो स्थान जितिन्, त्यहाँ पनि ‘मिसेस ट्यालेन्ट’ को उपाधि समेत हात पारिन्। उनले आफ्नो जीवनलाई मात्र होइन, सयौं महिलालाई प्रेरणा दिने प्लेटफर्ममा पुर्याएकी छन्।

हाल काठमाडौं बागबजारमा सञ्चालनमा रहेको आफ्नो फिटनेस सेन्टरमार्फत उनी अन्य महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने अभियानमा जुटेकी छन्। घर–परिवार, खेलकुद, सौन्दर्य प्रतियोगिता र उद्यमशिलताको उत्कृष्ट संगम हुन् डा. तिलु राना।

उनको जीवनशैली, आत्मबल र अदम्य संकल्पले नेपाली महिलामा नयाँ ऊर्जा भर्ने काम गरिरहेको छ। उनी आजको पुस्ताका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुन्।