बेलौरी, कञ्चनपुर — बेलौरी नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रमअन्तर्गत चप्पल उत्पादन सम्बन्धि सीप विकास तालिम सोमबार एक समारोहबीच सम्पन्न भएको छ। नगरका कुशल तथा जनप्रिय नगरप्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै भविष्यमा स्वरोजगारमार्फत आत्मनिर्भर बन्ने प्रेरणा प्रदान गरियो।
उक्त तालिम नगरपालिकाको आर्थिक सहयोग र प्राविधिक समन्वयमा सञ्चालित थियो, जसअन्तर्गत थुप्रै महिलाहरूलाई चप्पल बनाउने प्राविधिक सीप प्रदान गरिएको थियो। तालिमको उद्देश्य भनेको स्थानीय स्तरमै रोजगारी सृजना गरी गरिबी निवारणमा टेवा पुर्याउनु हो।
कार्यक्रममा नगरप्रमुख पोतीलाल चौधरीले तालिमको सफल समापनमा खुशी व्यक्त गर्दै भने,“सीप छ भने रोजगारी आफैं सिर्जना हुन्छ। हाम्रा महिलाहरू अब आत्मनिर्भर बन्न सक्छन्। नगरपालिकाले यो अभियानलाई अझ विस्तार गर्नेछ, ताकि एक घर एक उद्यम भन्ने हाम्रो लक्ष्य पूरा गर्न सकियोस्।”
उनले थपे,
“गरीबी हटाउने मुख्य आधार भनेकै सीपयुक्त समाज निर्माण हो। बेलौरी नगरपालिका अबका दिनहरूमा पनि यस प्रकारका तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्ध छ।”
कार्यक्रममा प्रशिक्षकहरू, जनप्रतिनिधि, नगरपालिकाका अधिकृतहरू, र सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रशिक्षार्थीहरूले तालिमबाट आफूहरूमा आएको आत्मविश्वास, उत्पादन क्षमता र भविष्य योजनाबारे पनि धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई बजार सञ्जालको पहुँच, प्रविधि र थप तालिमको अवसर सुनिश्चित गरिने नगरपालिकाको तर्फबाट आश्वासन पनि दिइएको थियो।बेलौरी नगरपालिकाको यस्तो पहलले स्थानीय स्तरमै महिला उद्यमशीलता र आर्थिक समावेशीकरणमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।