काठमाडौं, भदौ ३१ – नेपाली काँग्रेसका महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीभित्र मौलाउँदै गएको गुटबन्दी, भ्रष्टाचार, नैतिक पतन र जनआस्थाको क्षयीकरणमाथि गहिरो चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा लामो, विचारप्रधान स्टाटसमार्फत उनले पार्टीलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै नेतृत्व तहलाई “पदको मोह त्यागेर अभिभावकत्वमा उभिन” आह्वान गरेका छन्।
शर्माले आफ्नो सन्देशको प्रारम्भ एक गहन श्लोकबाट गरेका छन्:
“न धर्मो धर्मशास्त्रेषु न लोके न च वेदसु ।
यः स्यात् प्रियतमा लोके स धर्म इति निश्चयः ॥”
(अर्थात: धर्म केवल धर्मशास्त्र र वेदमा होइन, जनताको मनमा प्रिय हुने कुरा नै सच्चा धर्म हो।)
इतिहासको गौरव, वर्तमानको अपजस
शर्माले बी.पी. कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, सुशील कोईरालाजस्ता नेताहरूको योगदान सम्झाउँदै काँग्रेस कहिल्यै “सामान्य पार्टी” नभएको स्पष्ट पारेका छन्। तर अहिलेको अवस्थालाई “गम्भीर अपजस” को रूपमा उल्लेख गर्दै, यसलाई केवल शीर्ष नेतृत्वको दोष नभई “हामी सबैको सामूहिक कमजोरी” भनेर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
“गलतलाई गलत भन्न नसक्नु, मौन रहनु, आत्मा समर्पण गर्नु – यी सबै विश्वासको संकट सिर्जना गर्ने कारण हुन्,” शर्माको टिप्पणी छ।
नेतृत्वको दम्भ, जनता रोइरहेका छन्
शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, पारदर्शिता, भ्रष्टाचार, र NRN अधिकारका सवालहरूमा काँग्रेस नेतृत्व असफल भएको दाबी गरेका छन्। देशको अवस्था चित्रण गर्दै उनले लेखेका छन्:
“जनता दुई छाक खाना र एक सिटामोल खोजेर बाँचिरहेका छन्; बालबालिका तुइन चढेर बगिरहेका छन्; तर नेताहरू ठूला गाडी, भोज, रक्सीतिर रमाइरहेका छन्।”
“काठमाडौँमा गुटगत कार्यालय, करोडौंको खर्च, स्रोत नखुलेको पैसा – यो पारदर्शिता होइन, यो मौन भ्रष्टाचारको स्वीकारोक्ति हो।”
लोकतन्त्रको आत्मामाथि चोट
शर्माले हालै संसदभित्रै देखा परेको जनआक्रोशलाई “लोकतन्त्र मृत्युको संकेत” भन्दै चेतावनी दिएका छन्। पार्टीभित्र स्वार्थ, षड्यन्त्र, गुटीय भागबण्डा, मौनता र दम्भले काँग्रेसको आत्मा गुमिरहेको बताउँदै, यस्तो अवस्थाले जनताको विश्वासमा गहिरो चोट पुगेको बताएका छन्।
“लोकतन्त्र सत्ताको खेल मात्र होइन, यो जवाफदेहिताको अभ्यास हो,” शर्माले लेखेका छन्।
शिक्षा, NRN, र सुधार एजेन्डामा उपेक्षा
शर्माले शिक्षा क्षेत्रमा नर्सिङ कलेजहरू बन्द, निजी विद्यालयमाथि षड्यन्त्र, र soft loan जस्ता विषय उपेक्षित भएको उल्लेख गर्दै राज्यको प्राथमिकता र विवेकमाथि प्रश्न उठाएका छन्।
त्यस्तै, गैरआवासीय नेपाली (NRN) हरूमाथि गरिएको व्यवहारलाई “लाजमर्दो” भन्दै, आफ्नै देशको नागरिकले आफ्नो पहिचान गुमाउनु परेको विडम्बनालाई पार्टीले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
समाधान के हो? नेतृत्वले पदको मोह त्याग गर्नुपर्छ
शर्माले काँग्रेसको पुनर्जागरणको लागि पाँचवर्षे कार्यकालमा रहेका नेताहरूले पदको मोह त्यागी, नवपुस्तालाई नेतृत्व सुम्पने “कालजयी निर्णय” गर्नुपर्ने सन्देश दिएका छन्। त्यस्ता निर्णयले मात्र पार्टीलाई “अपजसबाट सुधारको ढोका खोल्ने” बाटोमा लैजान सक्ने उनको विश्वास छ।
अन्त्यमा, बीपीको विचारमा आशा
शर्माले आफ्नो सन्देशको अन्त्यमा बी.पी. कोईरालाको विचारलाई स्मरण गर्दै लेखेका छन्:
“देशको भविष्य निर्माण नेतृत्वको इमानदारीता र जवाफदेहितामा निर्भर हुन्छ। जबसम्म हाम्रो नेतृत्वले जिम्मेवारीलाई केवल सत्ताको खेल सम्झिरहन्छ, तबसम्म देश, समाज र पार्टीलाई अँध्यारोबाट उज्यालोमा लैजान सम्भव छैन।”
उनको यो अभिव्यक्ति पार्टीभित्रबाटै आएको ईमानदार आत्मसमीक्षा, गहिरो चिन्ता र सुधारको स्पष्ट नक्सा हो, जुन नेतृत्व, कार्यकर्ता, समर्थक सबैले गम्भीरताका साथ लिँदा मात्र काँग्रेस पुनः जनताको विश्वासमा फर्कन सक्छ।