कञ्चनपुर — सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र आगामी बजेटको विषयमा कृष्णपुर नगरपालिकामा मंगलबार एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननीय सांसदद्वय ओम बिक्रम भाट र गीता चौधरीको प्रमुख उपस्थितिमा नीति, कार्यक्रम तथा समसामयिक विषयहरूमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्ट, भूमिसम्बन्धी आयोगका सदस्य दिल देउवा, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, अन्य जनप्रतिनिधिहरू तथा राष्ट्रसेवक कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलको क्रममा सहभागीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेट्नुपर्ने प्राथमिकता, स्थानीय आवश्यकता तथा सम्भावित चुनौतीहरूबारे आफ्ना विचार तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रदेश सांसदहरू भाट र चौधरीले जनस्तरबाट प्राप्त सुझावलाई बजेट निर्माण प्रक्रियामा समावेश गरिने प्रतिवद्धता जनाए।
कार्यक्रमले नीति निर्माणमा जनप्रतिनिधि र सरोकारवाला पक्षहरूबीच समन्वयात्मक भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।
