काठमाडौं, २० साउन।रोटरी क्लब अफ मातृभूमि बालुवाटारले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रदान गरिएको छ। समाजमा शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेको योगदानको कदर स्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।
रोटरी क्लबको स्थापना दिवसको १०औं वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विशेष कार्यक्रममा क्लबका डिस्ट्रीक्ट गभर्नर विनोद कोइरालाले एआईजी कार्कीलाई सम्मानपत्र र माला लगाई सम्मान गरेका थिए। क्लबले कार्कीको दीर्घकालीन सेवाभाव, इमानदारिता र समाजप्रतिको समर्पणलाई मूल्यांकन गर्दै ‘मातृभूमि हिरो’ अवार्डका लागि छनोट गरिएको जानकारी गराएको छ।
यस समारोहमा क्लबका पूर्वअध्यक्ष विष्णुहरि दाहाललाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। उनी रोटरी इन्टरनेसनलको ‘चेयर फर लिड फेलोसिप’ पदमा नेपालबाट पहिलोपटक निर्वाचित भएका हुन्। उनको यो उपलब्धिलाई गौरवको रूपमा लिँदै क्लबले विशेष सम्मान प्रदान गरेको हो।
क्लबको नेतृत्व अब युवा उद्यमी निर्मल ढकालले सम्हाल्ने भएका छन्। डेढ दशकदेखि परोपकारी कार्यमा संलग्न रहँदै आएका ढकालले रोटरी वर्ष २०२५-२६ का लागि अध्यक्षको जिम्मेवारी ग्रहण गर्दैछन्। नेतृत्व हस्तान्तरणसँगै क्लबले समाजसेवा, स्वास्थ्य, शिक्षा र वातावरणजस्ता क्षेत्रमा आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष निगम हुमागाईँसहित क्लबका पूर्वअध्यक्षहरू विनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्यलाई सल्लाहकारको रूपमा मनोनयन गरिएको छ।
सो अवसरमा रोटरीका पूर्व डिस्ट्रीक्ट गभर्नरहरू, वर्तमान पदाधिकारीहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, व्यवसायिक समुदायका अगुवा तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारले परोपकार, सामाजिक न्याय र नेतृत्व विकासलाई आफ्नो मूल उद्देश्य बनाउँदै वर्षौंदेखि उल्लेखनीय कार्य गर्दै आएको छ। क्लबले ‘मातृभूमि हिरो’ अवार्डमार्फत समाजमा परिवर्तन ल्याउन प्रेरणा दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राखेको छ।